गोरखाबजार, १६ चैत । गोरखाको च्याङ्ली गाविस–७ मा रहेको करिब ४०० रोपनी क्षेत्रफलमा फैलिएको व्यक्तिको जग्गा बिक्रीमा स्थानीय बासिन्दाले रोक लगाएका छन् । घर जग्गा संरक्षण सङ्घर्ष समिति गठन गरेर स्थानीय बासिन्दाले त्यहीका नीलप्रसाद कँडेलको नाउँमा रहेको जग्गा बिक्रीमा रोक लगाएका हुन् ।
“बाजेको पालामा बिराएर खेती गर्न थालेको जग्गा बिनामुआब्जा नीलप्रसादले बिक्री गर्न थाले,” स्थानीयस्तरमा गठन भएको सङ्घर्ष समितिका अध्यक्ष ओमप्रकाश गुरुङले आज सदरमुकाममा पत्रकार सम्मेलन गरेर भन्नुभयो – “ऐलानी जग्गा जालसाजी गरेर नीलप्रसादले आफ्नो नाउँमा लालपुर्जा लिए ।” विसं २०३६ मा नापी गरिएका बेला उक्त ऐलानी जग्गा नीलप्रसादले आफ्नो नाउँमा ल्याएको गुरुङको भनाइ छ ।
“हामीले कमाउँदै आएको जग्गा २०३६ सालमा नापी गरियो,” उहाँले भन्नुभयो – “२०४२ सालमा स्थानीय गुरुङहरुको नाउँमा लालपुर्जा आउनुपर्नेमा नीलप्रसादको नाउँमा लालपुर्जा बनेर आयो ।” चालीसौँ वर्षदेखि आफूहरुले कमाउँदै आएको जग्गा नीलप्रसादको नाउँमा भएको थाहा पाएपछि स्थानीय बासिन्दाले जिल्ला अदालत गोरखामा मुद्दा पेस गरेका थिए । जिल्ला अदालत, पुनरावेदन हुँदै २०४५ सालमा सर्वोच्च अदालतमा पनि यो मुद्दा पुग्यो ।
“सर्वोच्चले पनि नीलप्रसादकै पक्षमा फैसला गर्यो,” गुरुङले भन्नुभयो – “त्यसयता हामी नकराई बसेका थियौँ । अहिले धमाधम जग्गा बिक्री गर्न थाले । घरबारी बचाउन सङ्घर्ष थालेका हौँ ।”
त्यहाँका सात कुमाल घरपरिवार र अन्य गुरुङ परिवार गरी २१ परिवार उक्त जग्गामा बस्दै आएका छन् । नीलप्रसादले हालै २८ रोपनी जग्गा बिक्री गरेको भन्दै सङ्घर्ष समितिले अब जग्गा बिक्री गर्न रोक लगाउने जनाएको छ । साथै नीलप्रसादले उक्त जग्गामा खेती गर्न, घर बनाउन कुमाल÷गुरुङ समुदायलाई दिन्छु भनेर ढाँटेको स्थानीयवासी दाबी गर्छन् ।
स्थानीयवासीले जीवन निर्वाहको आधार त्यही जग्गामात्रै भएको भन्दै पुस्तौँदेखि कमाउँदै आएको जग्गाबाट नीलप्रसादले हटाउन नमिल्ने तर्क गरेका छन् । “हामीले ऐलानी जग्गा हो भन्ने विश्वासमा जग्गा बिरायौँ,” घरजग्गा संरक्षण सङ्घर्ष समितिले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै नीलप्रसादको जग्गा किनबेचका लागि अन्यत्रका मानिसलाई गाउँ प्रवेशमा रोक लगाएको स्थानीयवासीले जनाएका छन् ।
जयबहादुर गुरुङ, पदमकुमारी गुरुङ, एकबहादुर गुरुङ, डम्बरबहादुर गुरुङ, गर्वसिं गुरुङ, रठाध्वज गुरुङ, ओमप्रकाश गुरुङ, हर्कबहादुर गुरुङ, भक्तिसरा गुरुङ, होमबहादुर गुरुङ, सुकबहादुर गुरुङ, चीजकुमारी गुरुङ, गम्वीर गुरुङ, सुक कुमाल, लालबहादुर कुमाललगायतले अहिले उक्त जग्गा भोगचलन गर्दै आएका छन् ।
लालपुर्जा भएको जग्गा किनबेचमा कसैले रोक लगाउन नसक्ने नीलप्रसादका छोरा रत्नराज कँडेलले बताउनुभयो । “सर्वोच्च अदालतले गरेको फैसला सबैले मान्नुपर्छ । त्यो ऐलानी जग्गा पनि होइन । ऐलानी भए कसैले मालपोतमा कर तिर्छ ?” उहाँले टेलिफोनमा भन्नुभयो – “माओवादीको आडमा त्यहाँका स्थानीयवासीले जग्गा हडप्ने खेल खेलेका छन् ।” धेरै वर्षदेखि स्थानीयवासीले आफ्नो जग्गा हडप्न खोजेको भन्दै उहाँले लालपुर्जा भएको जग्गा बिक्री वितरणमा कसैले रोक लगाउन नसक्ने बताउनुभयो ।
“माओवादीको आडमा सर्वोच्च अदालतले गरेको फैसला कुल्चन हुँदैन,” उहाँले भन्नुभयो – “हामीले भोगचलन गर्दै आएको जग्गा, तिरो तिरेको जग्गा कसरी ऐलानी हुन्छ ?” जालसाजी गरेर ऐलानी जग्गा पास नगरेको उहाँले बताउनुभयो । विसं २०५४ भदौ २० गते आफ्ना बाबु नीलप्रसादलाई माओवादीले कारबाही गरेको बताउँदै उहाँले फेरि माओवादीले स्थानीयवासीलाई उचालेर दुःख दिन खोजेको आरोप लगाउनुभयो ।
प्रतिक्रिया