कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी योजनाबाट अठार सय धारा वितरण

इनेप्लिज २०७१ चैत १६ गते ३:१४ मा प्रकाशित

water_20140531010048भक्तपुर, १६ चैत । बीस वर्षअघि केही सार्वजनिक धारा वितरण गरी सुरु भएको सूर्यविनायक नगरपालिका कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिले हाल एक हजार ८०५ धारा वितरण गर्न सफल भएको छ ।

तत्कालीन कटुञ्जे गाविसको बढ्दो पानीको समस्यालाई हल गर्न सतहको पानीको स्रोतले असम्भव भएपछि डिप बोरिङमार्फत जमिनमुनिको पानीको स्रोत उपयोग गरी पानीको समस्या हल गर्ने उद्देश्यले स्थापित समितिले हालै थप क्षमता विस्तार गर्ने योजनासमेत सुरुवात गरेको छ ।

समितिले हालै ६ लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण सुरु गरेको छ । समितिको १५ वर्षे कार्ययोजनाअनुसार तीनवटा ६ लाख लिटरका ट्याङ्की निमार्ण गर्ने योजनाअनुरुप हाल पहिलो ट्याङ्कीको निर्माण कार्य सुरु गरेको हो । समितिका अध्यक्ष निशान ढुङ्गेलले रु १४ करोड ५१ लाख ९८ हजारको लागतमा तीनवटा रिजर्भ पानीट्याङ्की निर्माण हुन लागेको जानकारी दिनुभयो ।

हाल दैनिक सात लाख लिटर पानी एक हजार ८०० धारालाई वितरण गर्दै आइरहेको बताउँदै ढुङ्गेलले थप तीन रिजर्भ ट्याङ्की निर्माण भएपछि भक्तपुर नगरपालिका १७ नम्बर वडाअन्तर्गत सृजना नगरका बासिन्दालाई पनि पानी खुवाउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–“पानी जीवनको अभिन्न अङ्ग हो । सबैले स्वच्छ पानी उपभोग गर्ने नैसर्गिक अधिकार हो । त्यसैले उत्पादन सहज भएको अवस्थामा सृजनानगरमा समेत पानी वितरण गरिनेछ ।” योजनाअन्तर्गत सरकारको रु ११ करोड ८१ लाख ६४ हजार र उपभोक्ताको दुई करोड ९५ लाख ४५ हजारको लागतमा आयोजना सम्पन्न हुनेछ । आयोजना आर्थिक वर्ष २०७६/०७७ सम्ममा सम्पन्न गरी १७ हजार ७७४ जनसङ्ख्या लाभान्वित हुने अनुमान गरिएको छ ।
पानीको आपूर्ति सहज र सर्वसुलभ तथा समान गर्न वितरण प्रणालीलाई वैज्ञानिक ढङ्गले अगाडि बढाउन विस्तृत योजनासमेत तयार भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया