जीविकोपार्जनका लागि गिट्टी कुट्दै बाढीपीडित

इनेप्लिज २०७१ चैत १६ गते ३:१० मा प्रकाशित

gittiवीरेन्द्रनगर, १६ चैत । पश्चिम सुर्खेत गिरिघाट शिविरमा बसेका बाढीपीडित पछिल्लो समय जीविकोपार्जनका लागि गिट्टी कुट्न थालेका छन् ।

सरकारले राहत दिन छाडेको भन्दै उनीहरुले दुई छाक टार्नकै लागि गिट्टी कुट्न सुरु गरेका हुन् । बाढीबाट पीडित भइ शिविरमा बसेको आठ महिना बितिसक्दा पनि सरकारले पुनःस्थापना र राम्रो राहतको व्यवस्था नगरेपछि बाँच्नका लागि गिट्टी कुट्न सुरु गरेको बाढीपीडित बताउँछन् । बिहानभरि नजिकैको खोलाबाट ढुङ्गा बोकेर शिविरनजिक थुपार्ने र दिनभर गिट्टी कुट्न सुरु गरेको उनीहरुले बताए ।

सरकारले न पुनःस्थापना न त रोजगारी नै केहीको पनि व्यवस्था नगरीदिँदा बाढीपीडितलाई जीविकोपार्जनमा समस्या भएको छ । शिविरमा बसेका ४३ वर्षीय बाढीपीडित टेकबहादुर भण्डारीले सरकारले पुनःस्थापना नगरीदिँदा त्रिपालमा बस्न पनि अब मुस्किल भएको बताउनुभयो ।

उहाँका अनुसार अहिलेसम्म ५० रुपैयाँका दरले ५० कट्ठा गिट्टी बिक्री गरिएको छ । बजारमा १२० रुपैयाँ कट्ठा पर्ने गिट्टीलाई ट्र्याक्टरवालाले ५० रुपैयाँ मात्रै एक कट्ठाको दिने गरेको उहाँको दुखेसो छ । ५० रुपैयाँबाट बढाएर ८० पुर्‍याइदिए आफूहरुलाइ केही राहत हुने उहाँको भनाइ छ ।

हरिहरपुर–५ सिस्नेरीमा कृषि खेती गरेर दैनिकी चलाउनले भण्डारीलाई अहिले शिविरमा गिट्टी कुट्न परेको छ । आफ्नो पूर्ण क्षति भएको भन्दै उहाँले सरकारले चाँडै पुनःस्थापना गरिदिनुपर्ने धारणा राख्नुभयो ।

सोही शिविरमै गिट्टी कुटिरहेकी अर्की बाढीपीडित कृष्णा कठायतले पहिले कहिले पनि गिट्टी नकुटेको आफूहरुले अहिले दुई छाक टार्नका लागि गिट्टी कुट्न परेको बताउनुभयो । खेती किसानी गरेर खाने आफ्नो परिवार बाढीपीहिरोले गर्दा अहिले पालमा गिट्टी कुटेर दुःख गर्न परेको सुनाउनुभयो । पुनःस्थापना गराई सुरुमा रोजगारीका लागि सरकारले केही व्यवस्था गरिदिए आफूहरु आफ्नो व्यवहार मिलाउने उहाँकोे भनाइ छ ।

यी त केही उदाहरण मात्रै हुन् गिरिघाटनजिक बसेका अधिकांश बाढीपीडितले गिट्टी कुट्न सुरु गरेका छन् । फेरि पनि बर्खा लाग्ने र हावाहुरी लाग्ने समय भएको छ तर सरकारले बाढीपीडितका लागि उचित व्यवस्थापना तथा पुनःस्थापना गर्न सकेको छैन ।

प्रतिक्रिया