तेह्र हजार हेक्टरभन्दा बढीमा वैज्ञानिक वन व्यवस्थापन सुरु

इनेप्लिज २०७१ चैत १६ गते २:५५ मा प्रकाशित

खस्यौली (बुटवल), १६ चैत । रुपन्देहीमा कुल २६ हेक्टर वन क्षेत्रमध्ये १३ हजार ३०० हेक्टरमा वैज्ञानिक बन व्यवस्थापन सुरु गरिएको छ ।

जिल्लामै रहेको एक मात्र साझेदारी बन लुम्बिनी साझेदारी वन (एक हजार ३२१ हेक्टर) तथा ९० सामुदायिक वनमध्ये २० सामुदायिक वनको १२ हजार हेक्टरमा वैज्ञानिक वन व्यवस्थापनको काम सुरु गरिएको जिल्ला वन अधिकृत इन्द्रबहादुर पछाईले जानकारी दिनुभयो ।

विगतमा वनको समुचित व्यवस्थापन हुन नसक्दा अधिकांश वनमा कि बूढा रूखको बाहुल्यता रहेको र कि नयाँ रूखको बाहुल्यता मात्रै रहेकाले समुचित व्यवस्थापनका लागि वैज्ञानिक वन व्यवस्थापन सुरु गरिएको हो । एउटा घर राम्रो हुनका लागि पनि हजुरबुवादेखि नातिसम्मको पुस्ता आवश्यक हुन्छ । त्यस्तै वनबाट नियमित आम्दानी लिनका लागि पनि सबै पुस्ताको बिरुवा हुनुपर्छ ।

विशेषगरी यो समस्या तराईको वनमा हो । २०५७ सालमा वन ऐनले सामुदायिक र साझेदारी वनको अवधारणा लिएपछि वनमा केही विकास भएको हो । पछिल्लो समयमा २०६७ मा वनलाई दिगो रुपमा व्यवस्थापन गर्नका लागि वैज्ञानिक वनको अवधारणा आएपछि कपिलवस्तुमा सुरु गरिएको थियो । यो अवधारणामा रुपन्देहीमा भने जिल्लामा पहिलोपटक २०६९/०७० सालदेखि लुम्बिनी साझेदारी वनमा सुरु गरिएको वैज्ञानिक वन व्यवस्थापन हालसम्म ९० मध्ये २० सामुदायिक वनमा पनि सुरु भइसकेको छ ।

वैज्ञानिक वन व्यवस्थापनअनुसार वनलाई निश्चित भागमा आठवटा क्लस्टर विभाजन गरी ८० वर्षे कार्ययोजना बनाइन्छ । त्यसमध्ये पनि एउटा क्लस्टरमा १० वर्षे कार्ययोजना बनाइने र एक वर्ष १० मध्ये एउटा क्लस्टरमा काम गरिने सेक्टर वन कार्यालय बुटवलका अधिकृत यज्ञमूर्ति खनालले बताउनुभयो ।

प्रतिक्रिया