चौध वर्षदेखि दूषित पानी सेवन

इनेप्लिज २०७१ चैत १२ गते ६:४४ मा प्रकाशित

indexसल्यान, १२ चैत । काटमौला–९ का बासिन्दा चौध वर्षदेखि दूषित पानी पिउन बाध्य भएका छन् ।

गाउँमा सञ्चालन भएको खानेपानी आयोजना लामो समयसम्म मर्मत हुन नसकेपछि स्थानीयवासीले खिया लागेको जीर्ण पाइपबाट आएको खियासहितको पानी प्रयोग गरिरहेका छन् । मौरीघारे र परिलेखका करिब १५० घरधुरीलाई पानीको अन्य स्रोतको विकल्प छ्र्रैन । विसं २०४५ मा युनिसेफको सहयोगमा सम्पन्न भएको खानेपानी आयोजना प्रयोग भएका जिआइ पाइप लामो समय बितिसक्दा पनि कतैबाट मर्मत हुन नसकेपछि धारामा दूषित पानी आउने गरेको छ ।

कोटमौलाका स्थानीय झक्कुप्रसाद वलीका अनुसार आयोजनामा प्रयोग गरिएका सबै जिआइ पाइपमा खिया लागेर पाइपको प्वाल सानो हँुदै गएको र त्यसबाट प्रवाह हुने पानीको रङसमेत रातो आउने गरेको छ । “विसं २०५६ सम्म राम्ररी पानी प्रवाह भएको थियो, अहिले यस्तो रातो रङको पानी बग्ने गरेको छ, प्रयोगका लागि कुनै पनि अन्य स्रोत नभएकाले त्यही पानी प्रयोग गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

गर्मी याम सुरु भएलगत्तै गाउँमा भएका ससाना कुवामा समेत पानी सुक्ने भएपछि पानीको हाहाकार हुने गरेको छ । “गाउँको नजिक कतै पनि अर्को खानेपानीको स्रोत छैन, कि त खोलाको पानी ल्याउन दुई घन्टा धाउनुप¥यो, कि त त्यही पानी प्रयोग गर्नुप¥यो”, स्थानीयवासी दुर्गालाल वलीले भन्नुभयो । दूषित पानीका कारण गर्मी याममा अन्य समयभन्दा बढी रोग देखापरेको उहाँको भनाइ छ ।

खानेपानी आयोजना मर्मतसम्भारका लागि जिविस र गाविसमा कुरा उठाए पनि कसैले कुरा नसुनेको खानेपानी आयोजनका चौकीदार कर्णबहादुर डाँगीले गुनासो पोख्नुभयो । “पानीको मुहानमा गेरु बग्छ, त्यही जिआइ पाइपमा अल्झेपछि खिया लागेर रातो पानी धारामा आउँछ, त्यो पानी नखाएर अर्को विकल्प छैन”, डाँगीले भन्नुभयो ।

उहाँका अनुसार गर्मी याममा पानीको स्रोतसमेत घट्ने र पाइपमा खिया लागेर पाइपको प्वालसमेत सानो हुँदै गएपछि पानीको अभाव हुने गर्छ । वडाका तीन गाउँमा मानिसलाई केही तत्कालीन रोग नलागेको भए पनि दीर्घकालीन रोग लाग्नसक्ने आशङ्काकै बीचमा बेलाबेलामा दूषित पानीकै कारण पशु मर्ने गरेको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया