दुई गाविस भवन निर्मित

इनेप्लिज २०७१ चैत १२ गते ६:२३ मा प्रकाशित

काँकडभिट्टा (झापा), १२ चैत । द्वन्द्व कालमा ध्वस्त भएका उत्तरी झापास्थित शान्तिनगर र बुधबारे गाविसका नवनिर्मित भवन एकै दिन बुधबार उद्घाटन भएका छन् ।

शान्ति तथा पुनःनिर्माणमन्त्री नरहरि आचार्यले दुवै भवनको उद्घाटन गर्नुभएको हो ।

मन्त्रालयको रु ४२ लाख र स्थानीय गाविसको रु दुई लाख ८६ हजार लागतमा शान्तिनगर गाविसको भवन निर्माण भएको गाविसका सचिव सुदर्शन बरालले जानकारी दिनुभयो ।

बुधबारे गाविसको भवन निर्माणमा सोही मन्त्रालयको सहयोग छ । गाविस सचिव मोहनलाल पनेरुका अनुसार मन्त्रालयले भवन निर्माणका लागि रु २० लाख, जिविसले रु पाँच लाख र गाविसले रु ११ लाख ६३ हजार ९४२ सहयोग दिएका थिए ।

कोसेली घर बन्ने
पर्यटकीयस्थल जामुनखाडीमा कोसेली घर निर्माण गरिने भएको छ । स्थानीय तथा लघुउद्यमी महिलाले उत्पादन गरेका सामग्री बिक्री वितरण गर्नका लागि जामुनखाडीमा कोसेली घर निर्माण गर्न लागिएको जामुनखाडी सीप विकास केन्द्रकी कार्यक्रमकी संयोजक सावित्रा दाहालले जानकारी दिनुभयो ।

दैनिक सयौँको सङ्ख्यामा आउने बाह्य तथा आन्तरिक पर्यटकलाई लक्ष्य गरी छ महिना भित्र बाँसको परम्परागत घर निर्माण गरिने बताइएको छ ।

प्रतिक्रिया