औद्योगिक प्रदूषणबाट स्वास्थ्य समस्या
पथरी(मोरङ),१२ चैत । मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगको प्रदूषणले सर्वसाधारणले सास्ती पाउँदै आएका छन् ।
वायुमण्डलीय समस्याका कारण एकातर्फ प्रदूषण बढ्दै छ भने अकातर्फ पानीको निकास नपाउँदा औद्योगिक क्षेत्रका सडक दुर्गन्धित बन्दै गएका छन् । एक वर्ष अगाडि न्यूनीकरण गर्ने प्रयास भए पनि त्यो खासै प्रभावकारी भएको भने देखिएको छैन । उद्योगले गरेको प्रदूषणबाट स्थानीयवासीको स्वास्थ्यमा समेत गम्भीर असर पर्दै जान थालेको स्थानीयवासीको आरोप छ ।
औद्योगिक क्षेत्र वरिपरिका बासिन्दामा श्वासप्रश्वास, छाला, कान आदिसम्बन्धी रोगको असर परेको बताइएको छ । स्थानीयवासी परशुराम निरौला रोजीरोटीका कारण आफूहरुलाई परेको समस्याका कारण बोल्न नसकेको बताउनुहुन्छ ।
औद्योगिक क्षेत्रमा प्रदूषण नियन्त्रणका लागि विसं २०६३ मा सरकारी पहल सुरु भयो । फिनल्यान्ड सरकारको सहयोगमा स्थानीयस्तरमा वातावरण व्यवस्थापन सुदृढीकरण परियोजना आएपछि पूर्वाञ्चलका छ जिल्लामा वातावरण प्रदूषण नियन्त्रणका लागि काम सुरु भएको थियो ।
सो क्षेत्रअन्तर्गत मोरङमा पर्ने डेढ सय उद्योगलाई जिविसको वातावरण उपसमितिले हेर्दै आएको छ । धुवाँ, फोहर पानी, धुलो वा ध्वनि प्रदूषण गराए स्थानीयवासीले यही उपसमितिमा उजुरी गर्न सक्छन् । उपसमितिले नै उद्योगले गर्ने प्रदूषणको मात्रा र परिमाण हेरेर वातावरणीय प्रदूषण नियन्त्रण प्रमाणपत्र दिँदै आएको छ ।
विसं २०६४ को २०औँ जिल्ला परिषद्ले स्वीकृत गरेर प्रदूषण रोकथाम तथा न्यूनीकरण निर्देशिका बनेपछि संस्थागत रुपमै प्रदूषण नियन्त्रणका लागि काम सुरु भएको हो । वातावरण संरक्षण ऐनमा भएका पाँच अधिकार विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले जिविस मोरङलाई अधिकार प्रत्योजन गरेअनुरुप नै काम भइरहेको बताइएको छ ।
उद्योगले त्यसको एक अक्षर पनि पालना गरेका छैनन् । टङ्की सिनवारीको महालक्ष्मी वायर एन्ड केबुलका प्रडक्सन म्यानेजर नारायण गौतम उद्योगमा अन्तको पानी आएर पसेको तर आफ्नो उद्योगले असर नगरेको बताउनुहुन्छ ।
स्थायी प्रमाणपत्रका लागि अहिलेसम्म कुनै पनि उद्योगले सरकारले तोकेको वातावरणीय मापदण्ड पूरा गरेका छैनन् । जिविसको वातावरण उपसमितिका अनुसार स्थायी प्रमाणपत्र लिने प्रक्रियामा दुई उद्योगले मात्र मापदण्ड पूरा गरेको अवस्था छ । औद्योगिक क्षेत्रको मोरङतर्फका भागमा १५० ठूला उद्योग छन् । साना तथा मझौला उद्योगको सङ्ख्या झन्डै ४०० छ तर ती उद्योगमध्ये केही बाहेकले नियमको पालना गर्नु त टाढाको कुरा सामान्य नियमसमेत हेरेको पाइँदैन ।
भगवती सोप इन्डस्ट्रिजका म्यानेजर उमेश सिग्देल उद्योगले प्रदूषण गरेको स्वीकार गर्नुहुन्छ । तर आफूहरुको उद्योग त्यसरी सडकमा नै पानी फाल्ने अवस्थामा नरहेको उहाँ बताउनुहुन्छ ।
औद्योगिक क्षेत्रबाट निस्किने फोहर पानी, प्रदूषित वायु र कर्कस आवाजका कारण नजिकै बस्तीका बासिन्दामा नकारात्मक प्रभाव पर्दै गएको छ । नेमुवा चोक नजिकै रहेको पायोनियर केबुल, बाँसबारी नजिकै रहेको हुलास वायर तथा भगवती सोपबाट बढी फोहर निस्किएको देखिन्छ ।
जिविस मोरङका वातावरण शाखा प्रमुख रोशन जोशी उद्योगले धेरै समस्या सिर्जना गर्दै गएको र सरकारले तोकेको मापदण्ड पूरा गर्ने बारेमा गम्भीर नभएकाले बेलाबेलामा चेतावनी दिइँदै आएको बताउनुहुन्छ ।
उद्योगीहरु आपूmहरु मानव स्वास्थ्यको विषयमा गम्भीर भइरहेको जिकिर गर्छन् । जिविस वातावरण उपशाखाका अनुसार औद्योगिक क्षेत्रमा दिउँसो ६० र राति ५५ डेसिबलको आवाज मात्र निकाल्न पाइने प्रावधान भए पनि त्यसभन्दा बढी पाइएको छ ।
अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए
अमेरिकामा जन्मेकी प्राप्तिले अनलाइन मार्फत बालबालिकालाई नेपाली पढ्न र लेख्न सिकाउदै
सिडिसीले मतदान गर्दै जोन्सन एण्ड जोन्सनको खोप अमेरिकामा चलाउन सिफारिस
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
प्रतिक्रिया