इलामका १२ गाविसमा नसर्ने रोगको अनुसन्धान सुरु

इनेप्लिज २०७१ चैत ११ गते ५:३६ मा प्रकाशित

ilam-mapइलाम, ११ चैत । इलामका १२ वटा गाविसमा नसर्ने रोगको अनुसन्धान गर्न थालिएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को टोलीले जिल्लाको माईपोखरी, माबु, माइमझुवा, जमुना, महमाई, दानावारी, लक्ष्मीपुर, चुलाचुली, नामसालिङ, सोयाङ, नयाँबजार र जोगमाई गाविसमा क्यानसर, मिर्गौला र मुटुरोगसम्बन्धी एक हप्तादेखि अनुसन्धान गर्न थालिएको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा खेमबहादुर कार्कीको नेत्तृवमा १८ जनाको टोलीले छनोटमा परेका गाविसमा अनुसन्धान थालेको हो ।

अनुसन्धान केन्द्रले प्रत्येक गाविसमा नमुना सङ्कलन भएका व्यक्तिको घर÷घरमा गएर युरिन, ग्लोकज, बल्डप्रेसर, उचाइ, तौल परीक्षण गरिरहेको अनुसन्धानमा संलग्न तालिम अधिकृत विजय झाले जानकारी दिनुभयो ।

मुलुकमा सर्नेभन्दा नसर्ने रोग बढी घातक हुने हुँदा यस्ता रोगलाई समयमा पहिचान गरी रोगका पीडित व्यक्तिलाई उपचार गराउन सहयोग गर्नेसमेत अधिकृत झाले बताउनुभयो ।

अनुसन्धानले नसर्ने रोगबाट कस्ता व्यक्ति पीडित छन् के कारणले यो रोग लाग्छ लगायतका कारण पत्ता लगाई जिल्लामा कुन रोगको बढी प्रकोप भेटिएको छ भनेर स्वास्थ्य मन्त्रालयमा प्रतिवेदन पठाएर इलाम जिल्लाका लागि छुुट्टै नीति निर्माण बनाइनेसमेत झाले जानकारी दिनुभयो ।

यता जिल्ला स्वास्थ्य कार्यालय इलामका प्रमुख डा राजकुमार पोखरेलका अनुसार डेढ वर्षको अवधिमा इलाममा क्यान्सर, मिर्गाैला र मुटुसम्बन्धी रोगबाट गरी १०६ जना पीडित छन् ।
ती रोगबाट पीडित रहेका गरिब तथा विपन्नलाई जिल्ला स्वास्थ्य कार्यालय इलामले उपचारका लागि मन्त्रालयमा सिफारिस गरी पठाइएको इलामका स्वास्थ्य प्रमुख पोखरेलले बताउनुभयो ।

हाल इलाममा नसर्ने रोग मधुमेहबाट तीन हजार ५४० जना पीडित छन् । इलाम जिल्ला नसर्ने रोगको उच्च जोखिमको क्षेत्र मानिन्छ ।

प्रतिक्रिया