तेइस वर्षपछि फरार अभियुक्त पक्राउ

इनेप्लिज २०७१ चैत १० गते १३:५१ मा प्रकाशित

hatkadiकाठमाडौँ, १० चैत । सरकारी छाप र दस्तखत किर्ते मुद्दामा फरार तीन अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २३ वर्षपछि आज पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेस गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ चन्द्रागिरि नगरपालिका नैकापका रवीन्द्र श्रेष्ठ, बाबुराज श्रेष्ठ र श्यामबहादुर श्रेष्ठ छन् । कास्की जिल्ला अदालतको २०४९ चैत १७ गतेको फैसलाले एक वर्ष कैद र रु ५० जरिवाना ठहर भई कैद तथा जरिवाना बेरुजु रहेको देखिएपछि फैसला कार्यान्वयनको सिलसिलामा पक्राउ गरिएको ब्युरोका प्रहरी उपरीक्षक किरण वज्राचार्यले जानकारी दिनुभयो ।

उनीहरुलाई २०४६ सालमा तत्कालीन गण्डकी अञ्चल प्रहरी कार्यालय, पोखराका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक र शाखा अधिकृतको दस्तखतसमेत किर्ते गरी नक्कली सवारी चालक अनुमतिपत्र बनाएर सवारी साधन चलाउने अभियोगमा अदालतले दोषी ठहर गरेको थियो ।

त्यस्तै ब्युरोले सवारी ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका सवारीचालक शङ्कर केसीलाई पनि १७ वर्षपछि पक्राउ गरी जिल्ला अदालत काठमाडौँमा पेस गरेको छ । विसं २०५३ असार १३ गते सिनामङ्गलस्थित सडकखण्डमा चालक केसीले चलाएको बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बालगोपाल कर्माचार्यको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

सोही मुद्दामा पुनरावेदन अदालत पाटनले २०५४ असार १६ मा प्रतिवादी बस चालकको लापरबाही पुष्टि गर्दै चालकलाई दुई वर्ष कैद हुने गरी फैसला गरेकामा फरार रहेका केसीलाई ब्युरोको टोलीले कपनबाट आज पक्राउ गरेको हो ।

प्रतिक्रिया