चार गाविसलाई डढेलो नियन्त्रण गर्ने सामग्री वितरण

इनेप्लिज २०७१ चैत ९ गते ५:३४ मा प्रकाशित

aagoइलाम, ९ चैत । बन डढेलोको उच्च जोखिममा रहेका जिल्लाका चार गाविसलाई दुई संस्थाले रु ५० हजार बराबरको आगो नियन्त्रण गर्ने सामग्री वितरण गरेको छ । जिल्लाको उत्तरी क्षेत्रमा रहेको प्याङ, जमुना, जोगमाई र गोर्खे गाविस डढेलोको उच्च जोखिम क्षेत्र भएकाले अप्राकृतिक घटना भएको अवस्थामा नियन्त्रण गर्ने सामग्री वितरण गरिएको हो ।

उच्च पहाडी जडीबुटी संरक्षण संस्थाको आयोजना तथा रेड पान्डा नेटवर्कको सहयोगमा आयोजित कार्यक्रमबीच जोगमाईस्थित कालिखोप डढेलो वन उपभोक्ता समितिका अध्यक्ष जितबहादुर खड्कामार्फत वन नियन्त्रणका सामग्री उपलब्ध गराइएको संस्थाले जनाएको छ ।

माथिल्लो क्षेत्रका चार गाविसका ११ वटा सामुदायिक वनका २२ प्रतिनिधिलाई डढेलो नियन्त्रणसम्बन्धी जोगमाई गाविसमा सचेतनाका कार्यक्रम दिएको उच्च पहाडी जडीबुटी संरक्षण संस्थाका प्रतिनिधि युवराज पिसीले जानकारी दिनुभयो । जिल्ला वन कार्यालयका सहायक वन अधिकृत सुनिल सिंह लगायतको टोलीले वन क्षेत्रको संरक्षण, डडेलो नियन्त्रणका उपायबारे समेत जानकारी गराएका थिए ।

यी गाविसमा रहेका वनमा बहुमूल्य जडीबुटी, जैविक विविधता पाइने भएकाले स्थानीयवासीले वन क्षेत्रको संरक्षणमा जुट्न सके कुनै पनि अप्राकृतिक किसिमका घटनाबाट वन क्षेत्र जोगिने धारणा राखेका थिए ।

प्रतिक्रिया