वैकल्पिक ऊर्जाबाट पाँच सय घर लाभान्वित

इनेप्लिज २०७१ चैत ९ गते ५:३३ मा प्रकाशित

solarपथरी (मोरङ), ९ चैत । मोरङको विकट गाविस वारङगीमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सञ्चालन गरेको उज्यालो वारङगी कार्यक्रमबाट पाँच सय घरधुरी लाभान्वित भएका छन् ।

सो ठाउँमा विद्युत्को राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने सम्भावना न्यून भएपछि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सौर्य ऊर्जा स्थापना गरेर सञ्चालनमा ल्याइ पाँच सय घरधुरीलाई सौर्य ऊर्जा उपलब्ध गराइएको जिल्ला विकास समिति मोरङका ऊर्जा अधिकृत ज्ञानेन्द्रकुमार सिंहले जानकारी दिनुभयो ।

उनीहरुले सौर्य ऊर्जामार्फत बिजुली प्रयोग गरिरहेका छन् । त्यस्तै, गाविसमा रहेका पाँच विद्यालय तथा स्वास्थ्य चौकीमा समेत सोलारबाट बिजुली प्रयोग गरिँदै आएको ऊर्जा अधिकृत सिंहले बताउनुभयो ।

उज्यालो कार्यक्रमअन्तर्गत वारङगी–९ को ताक्चुवा खोलाबाट पिको हाइड्रोपावर रु ६२ लाखको लागतमा निर्माण सम्पन्न भइसकेको ऊर्जा अधिकृत सिंहको भनाइ छ । आउँदो वैशाखदेखि सो हाइड्रो पावर सञ्चालनमा ल्याइनेछ ।

अधिकृत सिंहका अनुसार हाइड्रो पावरबाट १० किलोवाट क्षमताको बिजुली उत्पादन हुने र त्यसबाट ७५ घरघुरीले प्रत्यक्ष रुपमा बिजुलीको सुविधा पाउने छन् । त्यसबाट कुटानी, पिसानी मिलहरु समेत सञ्चालन गर्न सकिने बताइन्छ ।

प्रतिक्रिया