काँग्रेसमा सदस्यता वितरण विवाद चुलियो

इनेप्लिज २०७१ चैत ९ गते १:४२ मा प्रकाशित

congress_flagधनगढी, ९ चैत । नेपाली काँग्रेस पार्टीको क्रियाशील सदस्यता वितरणमा कैलाली जिल्लामा विवाद चुलिएको छ ।

पार्टीको सदस्यता फर्म अनधिकृत रुपमा वितरण गरेको ठहर गर्दै नेपाली का“ग्रेसको जिल्ला कार्य समितिको बैठकले जिल्ला उपाध्यक्ष लोकबहादुर महतोलाई पदमुक्त गरेको जिल्ला सचिव प्रकाश बमले बताउनुभयो ।

केन्द्रीय कार्यालयबाट आएका क्रियाशील सदस्यता फर्ममा आफँै कार्यवाहक अध्यक्षको हस्ताक्षर गरी जिल्ला उपाध्यक्ष महतोले आफू निकट कार्यकर्तालाई वितरण गरेको पाइएकाले जिल्ला सभापति नरनारायण शाहको अध्यक्षतामा आइतवार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको जनाइएको छ ।

केन्द्रबाट क्रियाशील सदस्यता फर्म ल्याई आधिकारिक व्यक्तिलाई नदिई मनोमानी रुपमा आफैँ वितरण गरेको भन्दै बैठकले काँग्रेसका महाधिवेशन प्रतिनिधि क्षितिज भण्डारीको क्रियाशील सदस्यता नवीकरण नगर्नसमेत जिल्ला कार्य समितिले केन्द्रीय समितिलाई सिफारिस गरेको सचिव बमले बताउनुभयो ।

पदमुक्त गरेको भनिएका जिल्ला उपाध्यक्ष महतोले आफूलाई बिनाकारण पार्टीले कारबाही गरेको आरोप लगाउनुभएको छ । महतोले पार्टी सभापतिले बिनाकारण निलम्बन गरेकाले समानान्तर जिल्ला समिति बनाउने योजनामा लागेको बताउनुभयो । यस विषयमा पार्टीका जिल्ला सभापति शाहसँग बुझ्न खोज्दा उहाँको फोन सम्पर्क हुन सकेन ।

नेपाली काँग्रेसको राष्ट्रिय महाअधिवेशन नजिकिँदै जाँदा कैलाली काँग्रेसको सदस्यता वितरणमा विवाद सिर्जना भएको हो । पार्टीको महाअधिवेशन नजिकिँदै जाँदा पार्टीको नयाँ सदस्यता लिन चाहनेहरुको सङ्ख्या कैलालीमा ह्वात्तै बढेको बताइएको छ ।

प्रतिक्रिया