पाँचथरमा आगलागी

इनेप्लिज २०७१ चैत ८ गते २:५६ मा प्रकाशित

aaglagi1पाँचथर, ८ चैत । केही दिनअघिदेखि जङ्गलमा लागेको आगो बस्तीमा फैलिँदा रानीगाउँ–४ मा रु १५ लाख बराबरको क्षति भएको छ ।

स्थानीयवासी धनेश्वर गजुरेल तथा भवानीप्रसाद गजुरेलको घर र गोठ पूर्णरुपमा जलेर नष्ट भएको तथा कृष्णबहादुर गजुरेलको एउटा गाई र बाछो जलेर मरेको स्थानीयवासी लक्ष्मण गजुरेलले जानकारी दिनुभयो ।

समयमै आगो नियन्त्रणमा लिन नसक्दा सो मूल्यबराबरको क्षति भएको हो । घटनास्थलमा अहिले पनि प्रहरी पुग्न नसकेका कारण गाउँले आगो नियन्त्रणको प्रयासमा जुटेको बताइएको छ । आगाले बस्तीका अन्य घर पनि भेट्न सक्ने भएकाले अहिले निभाउने प्रयास जारी रहेको बताइएको छ ।

गाईघाट (उदयपुर)– हँडिया गाविस–५ स्थित जुंगामा शनिबार आगलागी हुँदा एक घर तथा गोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

लड्डु भनिने ४८ वर्षका दिलबहादुर नेपालीका घरमा आगालागी हुँदा दुईतले काठको घर र एक गोठ जलेको इलाका प्रहरी कार्यालय हडियाले जनाएको छ । आगलागीबाट नगद र जिन्सी गरी करिब रु छ लाखबराबरको क्षति भएको प्रहरीले बताएको छ ।

हावाहुरी आइरहेका बेला घरकै दुई बच्चाहरुले आगो खेलाएका कारण गोठमा आगो सल्की घरसमेत नष्ट भएको प्रहरीको अनुमान छ । इलाका प्रहरी कार्यालय हँडियाका प्रहरी र स्थानीयवासीले दुई घन्टापछि आगो नियन्त्रणमा लिएका कारण छिमेकीका घर भने बचेको इलाका प्रहरी कार्यालय हँडियाले बताएको छ ।

प्रतिक्रिया