होमस्टेले बढायो आम्दानी

इनेप्लिज २०७१ चैत ७ गते ६:०६ मा प्रकाशित

suraha-1बलेवा (बागलुङ), ७ चैत । जिल्लाको होमस्टे गाँउको रुपमा परिचय बनाएको भकुण्डेमा आन्तरिक तथा बाह्य पर्यटक भित्रिने क्रम बढेको छ ।

तीन वर्ष अघिदेखि सञ्चालित होमस्टेको प्रचारप्रसारसँगै पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।

पर्यटकको सङ्ख्यामा भएको वृद्धिसँगै भकुण्डेवासीको आम्दानीसमेत बढ्न थालेको छ । होमस्टेमा विशेषगरी शनिबारको रात बिताउने पर्यटक बढी मात्रामा आउने गरेको होमस्टे सञ्चालन समितिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।

थापाका अनुसार बाह्य र आन्तरिक गरी मासिक २१५ जनाको हाराहारीमा पर्यटक होमस्टेमा पुग्ने गरिएका छन् ।

होमस्टेमा पर्यटक बढेका कारण आम्दानीसमेत बढ्न थालेको भकुण्डेवासी अहिले आफ्नो घरमा पाहुना सत्कारका लागि आवश्यक सामग्री सङ्कलनमा जुटेका छन् ।

पर्यटकीय सम्भावनायुक्त भकुण्डेमा होमस्टे सञ्चालन गर्ने उद्देश्यले तीन वर्ष पहिले होमस्टे सञ्चालन तदर्थ समितिसमेत गठन गरेर स्थानीयवासीलाई होमस्टेका बारेमा जानकारी गराउने र विभिन्न ठाउँको भ्रमण गराउने काम भएपछि स्थानीयवासीमा होमस्टेप्रति आकर्षण बढेको थियो ।

बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारदेखि करिब १५ किलोमिटर दक्षिणमा अवस्थित भकुण्डेमा पर्यटकीय सम्भावनाका प्रचुर सम्भावना रहेका र स्वदेशी तथा विदेशी पर्यटकको आगमनमा वद्धि हुँदै गएपछि गाउमा होमस्टे सञ्चालन गर्नुपर्छ भन्ने उद्देश्यले सुरु गरिएको होमस्टे कार्यक्रम अहिले गाँउभर फैलिएको छ ।

प्रतिक्रिया