जाजरकोट, ७ चैत । पहाडी जिल्ला जाजरकोट तरकारी उत्पादनमा आत्मनिर्भर बन्न थालेको छ ।
गाउँगाउँमा व्यावसायिक तरकारी खेती हुन थालेपछि जिल्ला तरकारीमा आत्मनिर्भर बन्न थालेको हो ।
अहिले किसान धमाधम परम्परागत खेती छोडेर व्यावसायिक तरकारी खेतीतर्फ लाग्न थालेका छन् । परम्परागत खेतीबाट जीवन गुजरा चलाउन कठिन हुँदा किसान तरकारी खेतीतर्फ लागेका हुन् ।
तरकारी खेतीका लागि सरकारी, गैैरसरकारी निकायबाट आर्थिक तथा प्राविधिक सहयोग गर्ने क्रम बढेको छ ।
विभिन्न निकायबाट आयआर्जनका लागि तरकारी खेती गर्न सहयोग हुन थालेपछि आफूहरु यसतर्फ लागेको जगतिपुर गाविस–२ कुसतराका रविन घर्तीले बताउनुभयो ।
आयआर्जनका लागि सहकारी संस्था, महिला समूह र किसान समूह व्यावसायिकरुपमा तरकारी खेतीतर्फ लागेका हुन् ।
तरकारीबाट छोटो समयमा बढी आम्दानी हुने हुँदा समूह र संस्थागत तबरले खेती गर्न थालिएको हो । व्यावसायिक खेती थालिएका कुसतरा, कालेगाउँ, मटेला, इभर, रावतलगायतका दर्जनभन्दा बढी स्थानलाई जिल्ला कृषि विकास कार्यालयले तरकारीका लागि पकेट क्षेत्र घोषणासमेत गरेको छ ।
ती क्षेत्रमा तरकारीको उत्पादन निकै बढेको र व्यवस्थित बजारीकरणका लागि किसानले माग गर्ने गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत चित्रबहादुर रोकायले बताउनुभयो ।
उत्पादन वृद्धिसँगै जिल्लाबाट तरकारीको निर्यात सुरु भएको छ । चिसोका हावापानीको कारण यहाँको तरकारीको माग अन्य ठाउँमा बढेको किसानको भनाइ छ ।
तरकारी खेतीले किसानको जीवनस्तरमा परिवर्तन देखिएको छ । किसान दुर्गा पुनले भन्नुभयो, “तरकारीे खेतीले नयाँ बाटो देखायो छोराछोरी पढाउन घर खर्च चलाउन कुनै समस्या छैन ।”
प्रतिक्रिया