चिट पुर्‍याउन खोज्ने दुई शिक्षक पक्राउ

इनेप्लिज २०७१ चैत ६ गते ११:३९ मा प्रकाशित

pakrau-

रङ्गेली, ६ चैत । अनुगमन परिचयपत्रको दुरुपयोग गर्दै परीक्षार्थीलाई गणित विषयको चिट पुर्‍याउन खोज्ने दुई शिक्षकलाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनता मावि अमाहीवर्यातीका शिक्षक जीतेन्द्र मण्डल र लक्ष्मी निमावि सिसवनीजहदाका शिक्षक सिंहबहादुर गुरुङ रहेका इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।

एसएलसी परीक्षा मर्यादित बनाउन जिल्ला शिक्षा कार्यालयले वितरण गरेको अनुगमन परिचयपत्र बोकेर कदमाहस्थित सर्वाेदय उच्च मावि परीक्षा केन्द्र पुगेका उनीहरुलाई परीक्षा केन्द्र सुरक्षार्थ बसेका सशस्त्र प्रहरी बेस नोचाका प्रहरी निरीक्षक जीवन भट्टराईले ढोकामा शङ्का गरी खानतलासी गर्दा उनीहरुमा २४ अङ्कको १२ थान चिट फेला परेको प्रहरीले जनाएको छ ।

यता, जिल्ला शिक्षा कार्यालय मोरङका प्रमुख योगेन्द्र बरालका अनुसार कक्षा कोठा बाहिर उनीहरुको साथबाट चिट बरामद भएको हुँदा जिल्ला परीक्षा समन्वय समितिले आवश्यक कारबाही गर्ने जानकारी दिनुभएको छ ।

यसैगरी, परीक्षार्थीहरुले चिट सार्दासमेत नदेखेझैँ गर्ने एक निरीक्षकसहित तीन विद्यार्थीलाई जिल्ला प्रशासन कार्यालय मोरङको संयुतm अनुगमन टोलीले आज निष्काशन गरेको छ ।

मोरङको अमाहीवर्यातीस्थित जयमहालक्ष्मी प्राविका शिक्षक अशोक मण्डल निष्काशनमा परेका हुन् भने सर्वोदय उमावि कदमाहका तीन जना छात्र कारबाहीमा परेका हुन् ।

अनुगमनका क्रममा मोरङको कर्सियास्थित शारदा मावि परीक्षा केन्द्रबाट शिक्षक मण्डललाई परीक्षा नियम विपरीत काम गरेको भन्दै प्रमुख जिल्ला अधिकारी गणेश कार्की, प्रहरी उपरीक्षक तारणी लम्सालसहितको संयुतm अनुगमन टोलीले निष्काशन गरेको हो ।

शिक्षक मण्डललाई परीक्षा अवधिभर निरीक्षक नरहने गरी निष्काशन गरिएको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।

प्रतिक्रिया