चरेस नियन्त्रणमा प्रहरी सक्रिय

इनेप्लिज २०७१ चैत ६ गते ३:५७ मा प्रकाशित

Charesबागलुङ, ६ चैत । अवैध लागूऔषध चरेसको उत्पादन, बिक्री र ओसारपसार बढेपछि प्रहरीले नियन्त्रणको लागि ‘विशेष अभियान’ थालेको छ ।

चरेस कारोवारको ‘केन्द्र’ बनेका यहाँका ग्रामीण क्षेत्रमा प्रहरीले निगरानी, चेक र कारबाही सुरु गरेको हो ।

चरेस नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम पनि सँगै लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी सक्रियताकै कारण पछिल्लो समय चरेससहित पक्राउ पर्ने घटना पनि बढेका छन् । विशेषगरी पश्चिम क्षेत्रका गाविसमा चरेससम्बन्धी धेरै घटना बाहिर आउने गरेका छन् ।

निशी, बोहोरागाउँलगायतका दुर्गम गाविसबाट चरेससहित पक्राउ पर्नेको सङ्ख्या बढिरहेको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर बस्नेतले बताउनुभयो ।

पछिल्लो एक महिनाभित्र निशीकै तीन महिला र एक पुरुष चरेससहित पक्राउ परेका छन् । तीमध्ये निशी–९ घर रीता घर्तीमगर र सोही स्थानकी पूजा घर्तीमगरलाई नौ किलो चरेससहित यसै साता प्रहरीले बोहोरागाउँबाट पक्राउ गरेको थियो ।

जिल्लाको ताराखोला क्षेत्र पनि चरेस उच्पादनको ‘केन्द्र’ मानिन्छ । केही महिनाअघि ताराखोलामै सयौं रोपनी क्षेत्रफलमा लगाइको ‘लेकाली भाँगो’ प्रहरीले फडानी गरेको थियो । प्रहरीका अनुसार स्थानीयले सोही भाँगोबाट चरेस बनाउने गरेका छन् ।

उहाँका अनुसार स्थानीयहरु धेरै पैसा पाउने प्रलोभनमा चरेस बनाउने र बेच्ने धन्दामा लाग्ने गरेका छन् । चरेस कारोबारीले सहरहरुमा लिएर आउन भनेपछि स्थानीयहरु चरेस बोकेर जाने गरेका छन् । त्यसरी चरेस ओसारपसारमा भरियाको रुपमा महिलाहरु बढी संलग्न हुने गरेका छन् ।

प्रहरीलाई खाली चरेस बोक्ने भरिया मात्र पक्राउ गर्ने तर वास्तविक कारोबारीलाई नियन्त्रण गर्न नसकेको भन्ने आरोप पनि लाग्ने गरेको छ ।

प्रनाउ बस्नेतका अनुसार चरेसमा ठूलो सञ्जाल प्रयोग हुने भएकाले प्रमुख व्यक्ति समात्नै गाह्रो हुने धारणा राख्नुभयो । बागलुङबाट बुटवल, काठमाडौँ, पोखरा र चितवनलगायतका ठूला सहरहरुमा चरेसको कारोबार हुने गरेको प्रहरीले जनाएको छ ।

बागलुङलाई आधारभूमि बनाएर चरेसको कारोवार र ओसारपसारमा ठूलो गिरोह संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया