आइतबार, साउन ५ २०७६
काठमाडौं ०४:३४
वासिङटन डिसी 18:49

शेष घलेले दोहोरिने इच्छा गरेमा म अध्यक्ष पदमा लडदिन् : कुमार पन्त, महासचिव, एनआरएन

इनेप्लिज २०७१ चैत ६ गते ०:४२ मा प्रकाशित

‘प्रवासी नेपालीहरु नेपालकै बारे सोचेर सुत्छन्, नेपालकै बारे सोचेर उठ्छन्’

Kumar-Panta

एनआरएनको ६ महिनापछि केन्द्रीय महाधिवेशन हुँदैछ, चुनावी सरगर्मी सुरु भएको हो ?

अधिवेशन आउन धेरै बाँकी छ । कतै–कतै साथीहरुले मिडियामार्फत चाहना व्यक्त गरेको मलाई पनि सुन्नमा आएको छ । तर, वास्तवमा अहिले एनआरएनलाई चुनाव लागि सकेको छैन् ।

कुन साथीहरु कुन पदमा बसेर काम गर्न इच्छुक हुनुहुन्छ, कोहीले आफ्नो अन्तर्मनमा केही सोचाइ राखिरहेको हुनसक्छ । तर, यो ठोस आकृतिचाँहि बाहिर आइसकेको छैन । यसर्थ साँच्चै चुनावमय एनआरएन भइसकेको छैन अहिले ।

चुनावमय वातावरण कहिलेबाट हुन्छ त ?

हामीले परिपत्र जारी गरेका छौँ, हरेक राष्ट्रिय समन्वय परिषद्लाई राष्ट्रिय सम्मेलन गर् भनेर । अप्रिलबाट हरेक राष्ट्रिय समन्वय परिषद्को सम्मेलन सुरु हुन्छ । जहाँसम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्को कुरा छ, जुन–जुलाईको अन्तिमसम्म साथीहरु कुन पदमा बसेर काम गर्न इच्छुक हुनुहुन्छ भनेर ठोस आकार बाहिर आउला । हामीले ‘ग्लोबल कन्फ्रेन्स’का लागि आगामी अक्टोबर १४ देखि १६ सम्मका लागि मिति तय गरिसकेका छौँ । त्यसको एकहप्ता अघि चाँहि काठमाडौँको वातावरण चुनावमय हुन्छ ।

शेष घलेजीको नेतृत्वलाई कसरी टिप्पणी गर्नुहुन्छ ?

जसरी सुरुका दिनहरुमा हामीले शेषजी नयाँ हुनुहुन्छ, संगठनको त्यतिसाह्रै अनुभव नभएको व्यक्ति, संगठनमा भिज्न केही समय लाग्छ कि भनेर सोचेका थियौँ । वास्तवमा त्यस्तो भएन् । संगठनको मर्म र भावना अनि गैरआवासीय नेपालीको चाहनालाई पनि छिट्टै बुझ्नुभयो र आत्मसात गर्नुभयो । त्यसो हुनाले उहाँको नेतृत्वको यो कार्यकाल समग्र रुपमा सफल कार्यकाल र सफल नेतृत्व भनेर मुल्यांकन गर्न चाहन्छु ।

अब एनआरएनको नेतृत्व कस्तो बनाउन खोज्दै हुनुहुन्छ ?

चुनौतीको एउटा विषय यही छ । सुरुका दिनमा उपेन्द्र महतो जस्तो दूरगामी व्यक्तित्वले संगठनलाई स्थापना गर्नुभयो । उहाँको व्यक्तिगत उचाइले गर्दा पनि संस्था यहाँसम्म आइपुग्न मद्दत मिल्यो । त्यसपछि देवमान हिराचनजी आउनुभयो । उहाँ पनि सुरुकै दिनदेखि एनआरएनको अभियन्ता, राम्रो उचाइ भएको व्यक्तित्व हुनुहुन्थ्यो । त्यसपछि जीवा लामिछाने आउनुभयो । जीवाजीको कार्यकालमा त लगानीको क्षेत्रमा कोषेढुंगा नै साबित भयो । उहाँले नेपालमा संस्थागत रुपमा गैरआवासीय नेपाली संघको सञ्जाललाई प्रयोग गरेर लगानी भित्र्याउन सुरु गर्नुभयो । उहाँको कार्यकाल पनि असाध्यै सफल रह्यो ।

त्यसपछि साँच्चिकै नेतृत्वको खडेरी पर्छ कि भन्ने एनआरएनमा साथीहरुको चिन्ता थियो, त्यसलाई चिर्दै शेष घलेजी आउनुभयो । प्रवासमा बस्ने नेपालीहरुको मात्र सेलिबे्रटी नभई अष्ट्रेलियाकै एउटा धनाढ्य शेषजी जस्तो व्यक्ति आएर साथीहरुसँग हातेमालो गर्दै संस्थाको नेतृत्व गर्न तयार छु भनेर सुखद थियो । त्यसले गर्दा संस्थालाई यो उचाइमा ल्याउन मद्दत ग¥यो । भोलि पनि यस्तै साँच्चै नेतृत्व दिन सक्ने, उच्च व्यक्तित्व गैरआवासीय नेपालीहरुको नेतृत्वमा आउनुपर्छ भन्ने साथीहरुको भावना र चाहना छ ।

तपाईं अहिले महासचिव हुनुहन्छ, संस्था कार्यकारी भूमिकामा हुनुहुन्छ, त्यो नेतृत्व दिन तपाईं तयार हुनुहुन्छ त ?

म सुरुदेखि नै एनआरएनको अभियानमा छु । सन् २००५ देखि नै यो संस्थाको श्रीबृद्धिमा लागेको छु । कुनै दिन साथीहरुले तपाईं अगाडि बढ्नुपर्छ भन्नुभयो भने अवश्य पनि म तयार हुन्छु । तर, अहिले म आगामी कार्यकालमै अध्यक्ष भएर काम गरिहाल्नुपर्छ भन्ने पक्षमा छैन् । अहिले म त्यसको तयारीमा पनि छैन् ।

तपाईं तयारी नभए कस्लाई अध्यक्ष बनाउँदै हुनुुहुन्छ ?

एनआरएनमा स्थापनाकालदेखि लागेका धेरै नेपाली हुनुुहुन्छ, धेरै सिनियर दाईहरु हुनुहुन्छ, व्यवसायको क्षेत्रमा पनि धेरै ठूला–ठूला सफलताहरु प्राप्त गरेका दाईहरु हुनुहुन्छ । सायद अब शेष घलेजीले नै साथीहरुले चाहनुहुन्छ भने एक कार्यकाल अब म दोहो¥याउँछु भन्न सक्नुहुन्छ । उहाँ चाहनुहुन्छ भने दोहारिनुपर्छ भन्छु म पनि । मेरो समर्थन रहन्छ ।

तपाईंको यो डेढबर्षे कार्यकाललाई कसरी समिक्षा गर्नुहुन्छ ?

जब शेषजीको नेतृत्वमा हामी आयौँ । संस्था दर्तासँगै हामीले हाम्रो कार्यकाल सुरु ग¥यौँ, त्यो भन्दा अघि गैरआवासीय नेपाली संघ दर्ता भएको थिएन् । नेपाल सरकारको कानुन अनुसार दर्ता भइसकेपछि यहाँको कानुनलाई पनि पछ्याउनुपर्ने र हाम्रो संगठनलाई व्यवस्थित गर्ने अभियानमा लाग्यौँ । त्यो सफलतापूर्वक सम्पन्न गरेका छौँ ।

यसअघि ६ महिना विदेशमा बसेका नेपाली, जो पनि गैरआवासीय नेपाली हुन पाउने भन्ने थियो । अहिले दुई बर्ष प्रवासमा नबसीकन एनआरएन हुन नपाइने भनेर एनआरएन दर्ता गर्दा हामीमाथि जुन बाध्यकारी नियम लगायो । त्यो हामी मान्न बाध्य छौँ । यद्यपि छ महिना भन्दा बढी प्रवासमा बस्ने नेपाली एनआरएन हुन पाउनुपर्छ भन्ने हाम्रो माग छ, त्यस विषयमा हामी निरन्तर वार्तामा छौँ । सकरात्मक रुपमा वार्ता अघि बढिरहेको छ ।

अहिलेसम्म हामी नेपाल उद्योग वाणिज्य महासंघको हलमा बसेर आफ्नो कार्यालय संचालन गर्न विवश थियौँ । अहिले ७० देशमा हाम्रो राष्ट्रिय समन्वय परिषद् छ । त्यो सञ्जाललाई नेपाल उद्योग वाणिज्य महासंघले प्रदान गरेको दुई–तीन वटा कोठामा बसेर कार्य सम्पादन गर्न सहज थिएन् । अघिल्लो कार्यकालदेखि नै भवन निर्माणका लागि योजना अघि बढेको थियो । तर, संस्था दर्ता नभएका कारण भवन निर्माण अघि बढ्न सकेको थिएन् । शेषजी नेतृत्वमा आइसकेपछि तीव्रताका साथ अघि बढायौँ । जसको निम्ति गैरआवासीय नेपालीहरुले उत्साहप्रद रुपमा आफ्नो सहयोग प्रदान गर्नुभयो । हामीले सुरुमै १० करोड बजेट लक्षित गरेर अभियान सुरु गरेका थियौँ । अहिलेसम्म १९ करोड रुपैंयाको प्रतिबद्धता आइसकेको छ । हामीले सोचे भन्दा बढी जग्गामा सोचेभन्दा ठूलो भवन बनाउन सफल हुन्छौँ भन्ने मेरो विश्वास छ ।

यसले नेपाली चाँहि के अर्थ राख्छ ?

आफ्नै भवन भएपछि संस्थालाई संस्थागत गर्न सजिलो हुन्छ । भवन निर्माणपछि एनआरएन साँच्चिकै नेपालमा सामाजिक क्षेत्रमा, लगानीको क्षेत्रमा काम गर्नका लागि गैरआवासीय नेपालीहरु साँच्चिकै तयार छन् भन्ने सन्देश दिनेछ । भवन निर्माणको चरण अझै पनि जारी छ । हामी २५ देखि २७ करोड रुपैंयासम्ममा आफ्नो भवन बनाउने सोचमा छौँ ।
भवन निर्माण त हाम्रो आन्तरिक कुरा भयो । नेपालमा बस्ने जनमानसलाई यो भवनले त्यति ठूलो अर्थ राख्दैन ।

विशेषगरि, सामाजिक, आर्थिक विकासको क्षेत्रमा गैरआवासीय नेपालीले कति लगानी गरेका छन् भनेर नेपाली जनमानसले चासो लिनु स्वभाविक हो । हामीले लगानीलाई नै आफ्नो प्राथमिकतामा राखेका छौँ । हामीले कार्यकालको सुरुमै ४ तारे डिलक्स होटल संचालन गर्ने भनेर प्रतिबद्धता जनाएको थियौँ । भवन निर्माणका लागि रकम पूरा हुनासाथ हामी लगानीतर्फ नै फर्कन्छौँ ।

के–के लगानी ?

नेपाल सरकारले प्राथमिकताको क्षेत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, जलविद्युत त्यही क्षेत्रमा लगानी गर्न चाहन्छौँ । जलविद्युतमा लगानी सुरु भइसकेको छ । संस्थागत रुपमा नै अभियान चलाएर १ अर्ब रुपैंया संकलन गरी जलविद्युतमा लगानी गर्ने रकम संकलन सुरु गरेका छौँ । लमजुङको दोर्दी खोलमा हाम्रो जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा छ । यो क्रमलाई हामी राख्छौँ ।

एनआरएनका अहिलेका जटिलता के–के हुन् ?

एनआरएनको लक्ष्य भनेको विदेशमा बस्ने नेपालीलाई एकीकृत गराउने, दरिलो शक्तिका रुपमा विकास गर्ने र त्यो शक्तिलाई नेपालको आर्थिक उन्नतिमा लगाउने हो । विदेशमा रहेका नेपालीले आर्जन गरेका ज्ञान, सीप र आर्थिक स्रोतलाई समुन्नत नेपाल निर्माण अभियानमा लगाउने हाम्रो सोचाइ थियो । कसरी ती मानिसहरुलाई समेट्ने, कसरी नेपाल निर्माणमा लगाउने भनेर विदेशमा बस्ने हामी नेपालीहरुलाई चुनौतीका रुपमा रहेको थियो । त्यो चुनौतीलाई अहिले पार गरिसकेका छौँ । प्रवासमा रहेका नेपालीमाझ एनआरएन एउटा विश्वासिलो संस्थाका रुपमा स्थापित भइसकेको छ । त्यो संस्थामार्फत नेपालको आर्थिक उन्नतिमा बढी भन्दा बढी यो कसरी लाग्ने भन्ने अहिले हाम्रो चुनौती हो । मानिसहरुले लगानी भनेपछि मुनाफा पनि हेर्छ । च्यारिटीका लागि मात्र मानिसहरु आएर लगानी गर्न तयार छैनन् । राम्रा–राम्रा परियोजना दिनसक्नु, यो क्षेत्रमा लगानी गरिसकेपछि आफ्नो लगानी डुब्दैन भनेर विश्वास दिलाउनु अहिलेको हाम्रो चुनौती हो । देश धनी बनाउने र हामी जसरी दैनिक हजारौँको संख्यामा बाहिरिनु परेको छ, त्यो रोक्नका लागि सहयोग पु¥याउनेमै हाम्रो ध्यानलाई केन्द्रीत गरिरहेका छौँ ।

एनआरएनलाई नेपालीहरुले कसरी बुझ्ने ?

नेपाल धनी होस् । नेपाल नै समृद्ध होस् र भविष्यमा हाम्रा सन्ततिहरु हामी जसरी विदेशमा आउन नपरोस् भनेर चाहना राख्ने नेपाली हौँ भनेर बुझ्दा उचित हुन्छ भन्ने लाग्छ मलाई । समृद्ध नेपाल बनाउने अभियानमा हातेमालो गर्न प्रवासका लाखौँ नेपालीहरु तयार भएर बसेका छन् ।

अर्कोकुरा कुनै पनि देशका नागरिकहरु अहिले प्रवासमा हामी जसरी यति ठूलो सञ्जाल बनाएर एकीकृत भएर बसेका छैनन् । अमेरिका होस् या भारत, पाकिस्तान कसैको पनि हाम्रोजस्तो ठूलो सञ्जाल प्रवासमा छैन् । यसको मतलब के हो भने प्रवासमा रहेका नेपालीहरु जतिबेला पनि नेपालकै चिन्ता लिन्छन्, नेपालकै बारे सोचेर बस्छन्, नेपालकै बारेमा सोचेर सुत्छन् र नेपालकै बारेमा सोचेर उठ्छन् । गैरआवासीय नेपालीहरुले विदेशमा बसेर नेपाललाई चिनाउन अवैतानिक बाणिज्यदूतको रुपमा जहिले पनि काम गरिरहेका छन् । नेपालको शिरलाई सगरमाथा जस्तै उच्च बनाउन प्रवासी नेपालीहरु सँधै लागिरहेका छन् ।

प्रतिक्रिया