सुत्केरी भएको २४ घन्टाभित्र परीक्षा दिँदै सावित्री

इनेप्लिज २०७१ चैत ५ गते ९:१९ मा प्रकाशित

jumla_nepal-mapजुम्ला, ५ चैत । यहाँका दुर्गा उच्च माध्यमिक विद्यालय लाम्रा परीक्षा केन्द्रमा लाम्रा– ५ जुम्लाकी सावित्री नेपाली सुत्केरी भएको २४ घन्टाभित्र पहिलो दिनको अङ्ग्रेजी विषयको परीक्षामा सामेल भएकी छन् ।

बीस वर्षीया नेपालीले हिजो बेलुका साँझ करिब पौने ८ बजेतिर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा छोरी जन्माएकी थिइन् । चिकित्सकले चार दिनसम्म विश्राम लिन भने पनि परीक्षाका कारण डाक्टरको सल्लाह उल्लङ्घन गर्न बाध्य भएको बताइन्् ।

अर्को व्यक्तिलाई परीक्षा दिलाउन केन्द्राध्यक्षलाई गुहार मागियो तर त्यो व्यवस्था छैन, आफैँले दिनुपर्छ भनेकाले अहिले शिशुलाई काखमा च्यापेर आएकी छु, सामथ्र्यले सहायता दिएसम्म परीक्षा दिनेछु, उनले भनिन् । केन्द्राध्यक्ष प्रेमबहादुर शाहीले उनको सट्टामा अर्को बसाल्न नसक्दा एक घन्टा बढी समय उपलब्ध गरिएको बताउनुभयो । स्ट्रेचरमा उक्त केन्द्रमा पु¥याएकी सावित्रीले आंशिकतर्फबाट परीक्षा दिएकी छन् ।

यता जिल्ला शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले पनि सावित्री नेपाली सुत्केरी भएको २४ घन्टाभित्र परीक्षा दिँदा उनको स्वास्थ्यमा प्रभाव पर्ने कुरामा मानवीय समवेदनामा भए पनि ऐन, नियमावलीमा सुत्केरीका लागि अर्को व्यवस्थाको उल्लेख नभएका कारण स्वयम् व्यक्तिले नै दिनुपर्ने बताउनुभयो ।

अहिले उनको स्वास्थ्य अवस्थाको हेरचाह गर्न उनकै आफन्त ३८ वर्षीय विष्णु सार्की खटिएकी छन् ।

उक्त परीक्षा केन्द्रमा नियमिततर्फ १५१ र आंशिकतर्फ ८४ गरी जम्मा २३५ जना विद्यार्थी परीक्षामा सामेल भएको केन्द्राध्यक्ष शाहीले जानकारी दिनुभयो ।

यसपटकको पहिलो दिनको अङ्ग्रेजी विषयको परीक्षा जिल्लाकै ११ वटै केन्द्रमा मर्यादित एवम् व्यवस्थित रुपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिक्रिया