बालुवा खानीमा पुरिएर तीन मजदुर गम्भीर घाइते

इनेप्लिज २०७१ चैत ४ गते १४:३० मा प्रकाशित

भक्तपुर, ४ चैत । खानी सञ्चालकको लापर्वाहीका कारण भक्तपुरको चाँगुनारायण नगरपालिका पिखेलमा सञ्चालित आगन्जा कन्सस्ट्रक्सनको बालुवा खानीमा पुरिएर तीन मजदुर गम्भीर घाइते भएका छन् ।

बालुवा बोक्दै गरेका मजदुर एकसय फिटभन्दा अग्लो बालुवाको ढिस्को खसेर एक महिला र दुई पुरुष मजदुर गम्भीर घाइते भएका छन् भने अन्यले भागेर ज्यान जोगाएको मजदुरले बताएका छन् ।

घाइते हुनेमा बा २ ख ६०५५ नम्बरको मिनिट्रकका सहचालक सिन्धुपाल्चोक बाडेगाउँका सरोज तामाङ, चितवन घरभई खानीमा बालुवा बोक्ने काम गर्दै आएका अशोक रेग्मी र चाँगुनारायण पिखेलकी बेली खत्री रहेका छन् । घाइतेको भक्तपुर सल्लाघारीस्थित ईवामुरा अस्पतालमा उपचार भइरहेको छ ।

बालुवाको ढिस्कोले मजदुर पुरेलगत्तै अन्य मजदुर, स्थानीय बासिन्दा र स्काभेटरले माटो पन्छाएर तत्कालै घाइतेको उद्धार गरिएको थियो ।

महानगरीय प्रहरी परिसद् भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले घाइतेका परिवारले घटनाका बारेमा उजुरी दिए कारबाही प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।

स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरीले बालुवा खानीको तत्काल अनुगमन गरिने बताउँदै अनियमितरुपमा सञ्चालित खानीलाई कारबाही गरिने बताउनुभयो ।

प्रतिक्रिया