पाँच सय तिर्न नसक्दा दुई सयभन्दा बढी विद्यार्थी एसएलसी दिनबाट वञ्चित

इनेप्लिज २०७१ चैत ३ गते ३:५८ मा प्रकाशित

slcबेलौरी (कञ्चनपुर), ३ चैत । यस वर्षको एसएलसी परीक्षामा कञ्चनपुरका २०० भन्दा बढी विद्यार्थी परीक्षा शुल्क ५०० रुपैयाँ तिर्न नसक्दा परीक्षा दिनबाट वञ्चित भएका छन् ।

जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष एसएलसी परीक्षामा २४८ विद्यार्थीले परीक्षा दिन पाउने छैनन् । शिक्षा कार्यालयका परीक्षा शाखाप्रमुख तथा सहायक शिक्षा अधिकारी पुष्करप्रसाद भट्टले १४६ छात्र र १०२ छात्राले यस वर्षको एसएलसी परीक्षा दिन नपाउने बताउनुभयो । उनीहरुले समयमै परीक्षा फारम शुल्क नतिरेका कारण परीक्षा दिनबाट वञ्चित भएका हुन् । गत वर्ष २२७ विद्यार्थी एसएलसी परीक्षा दिनबाट वञ्चित भएका थिए ।

सहायक शिक्षा अधिकारी भट्टले विद्यालयले फागुन १० गतेसम्म शिक्षा कार्यालय र शिक्षा कार्यालयले फागुन १५ गतेसम्म परीक्षा नियन्त्रण कार्यालयमा परीक्षा शुल्क बुझाउने म्याद भए पनि उक्त विद्यार्थीले दुवै समयभित्र परीक्षा शुल्क अर्थात् राजस्व नबुझाएका कारण परीक्षा दिनबाट वञ्चित भएको जानकारी दिनुभयो ।

जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कअनुसार यस वर्षको एसएलसी परीक्षामा जिल्लाका ४९ संस्थागत र १०५ सामुदायिक गरी जम्मा १५४ विद्यालयका ११ हजार ७०६ विद्यार्थी सहभागी हुने छन् । जसमध्ये नियमिततर्फ सात हजार ७६४ र एक्जाम्टेडतर्फ तीन हजार ९४२ विद्यार्थी गरी जम्मा ११ हजार ७०६ विद्यार्थी सहभागी हुने भएका हुन् ।

प्रतिक्रिया