राष्ट्रिय फूलको दुर्दशा

इनेप्लिज २०७१ चैत १ गते २:४५ मा प्रकाशित

gurashरामपुर (पाल्पा, १ चैत । वसन्त ऋतुको आगमनसँगै भिरपाखा, पखेरामा फुल्ने लालीगुराँस अहिले लोप हुँदै गएको छ ।

पाल्पाका २० भन्दा बढी गाविसभित्र सामुदायिक तथा निजी वनजङ्गलमा फुल्ने गुराँसका बोटलाई दाउराका निम्ति प्रयोग हुने क्रम बढ्न थालेको छ । गुराँसको फूलबाट विभिन्न पेयपदार्थ निर्माण गरी सामुदायिक वन कार्यालयले राम्रो आम्दानी गरिरहेका बखतमा पछिल्लो समय जनचेतनाको कमीले गर्दा अभियानकै रुपमा दाउराका रुपमा फँडानी हुन थालेको छ ।

गुराँसको दाउरा प्रयोग गर्दा अन्य प्रजातिको तुलनामा राप र ताप गुराँसको कोइलामा बढी नै हुने र अर्कातर्फ रूखको हाँगाबाट कृषि औजार (हँसिया, कुटो, कोदालो, बन्चरो)का बिँड बलियो हुने भएकाले यसको संरक्षणभन्दा फँडानी बढी भएको खस्यौलीका स्थानीय बासिन्दा रणबहादुर नेपालीले बताउनुभयो ।

नेपालमा पाइने आठ प्रजातिका गुराँसमध्ये यहाँ पाइने रातो गुराँसलाई स्थानीय भाषामा पटेसार भनिन्छ । पछिल्लो समयमा आरनका लागि आवश्यक पर्ने गोल (कोइला)का लागि पनि सिङ्गो रूख ढलाएर कोइला बनाउने प्रयोग बढेपछि वनबाट लालीगुराँस हराउन लागेको रुप्से गाविसका धनबहादुर विश्वकर्मा बताउनुहुन्छ । साल काट्न नपाइने भएकै कारण गुराँसका बोट खोजी काटेर गोलका रुपमा प्रयोग गर्न थालेको विश्वकर्माको भनाइ छ ।

राष्ट्रिय फूलका रुपमा महत्व बोके पनि यसको संरक्षण, फूलको उपयोगिताका बारेमा जिल्ला वन कार्यालय, वन उपभोक्ता महासङ्घ, विभिन्न सङ्घसंस्थाले जनचेतनाका कार्यक्रम नगरेका कारण अभियानका रुपमा कटानी भएको मित्याल गाविसका स्थानीय बासिन्दा हेमबहादुर रानाले गुनासो गर्नुभयो ।

तानसेनको श्रीनगरका सामुदायिक वनमा समेत पर्याप्त मात्रामा लालीगुराँस पाइने भए पनि त्यहाँ घुम्न जाने जो कोहीले राम्रो मानेर हाँगा भाँचेर फूल टिप्ने गर्छन् । स्थानीय जनतामा सचेतना नभएका कारण ‘राष्ट्रिय फूल’ लालीगुराँस लोप हुने अवस्थामा पुगेको छ । यहाँका तीन सामुदायिक वनमा गुराँसकै बोट थिए तर कटानी भएकै कारण क्रमिक रुपमा हराउँदै गएको देउराली गाविसका स्थानीय बासिन्दा कृष्ण गौतमले बताउनुभयो ।

जिल्लाका रुप्से, कसेनी, झडेवा, भैरवस्थान, खस्यौली, मित्याल, झिरुवासजस्ता ३० भन्दा बढी निजी तथा सामुदायिक वनमा लालीगुराँस पाइन्छ । “यसको फूलबाट पेयपदार्थ बनाउन सकिन्छ, अर्कातर्फ औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ, त्यसका लागि सरोकारवाला निकायले ध्यान दिनुप¥यो, यसलाई उचित मात्रामा प्रयोग गरिए विदेशी मुद्रा आर्जन गर्ने बलियो माध्यम बन्छ” जिविसका पूर्वसभापति पे्रमनाथ बस्यालले भन्नुयो ।

जिल्ला वन कार्यालयले वन समुदायलाई गुराँस कटानी गर भनेको छैन, समूहले कटानी गरेको हो । यसको महत्व र उपयोगिताका विषयमा समुदायलाई सचेतीकरण भने नगरिएको वन प्राविधिक बताउँछन् । जिल्ला वन कार्यालय र वन उपभोक्ता महासङ्घले हालसम्म सालको रूख मात्र संरक्षण गर्ने अभियान सञ्चालन गरेका कारण यो अवस्थामा आइपुगेको स्थानीय बासिन्दाले बताएका छन् ।

“राम्रो कामको थालनी जसले गरे पनि हुन्छ यहाँ त्यस विषयमा कुनै निकायले ध्यान नदिएका कारण बोटै हराउन लागेको हो”–छहरा गाविसकी शान्ति रायमाझीले बताउनुभयो ।

प्रतिक्रिया