ट्यांकीको त्रास

इनेप्लिज २०७१ चैत १ गते २:४१ मा प्रकाशित

1326काँकडभिट्टा (झापा), १ चैत । मेचीनगरका दुई हजार ५०० उपभोक्तालाई पिउने पानी वितरण गर्दै आएको धुलावारी खानेपानी उपभोक्ता समितिको मुख्य ओभरहेड ट्यांकी चुहिन थालेको छ ।

जापानी दातृ संस्था जाइकाले दिएको रु ४५ करोडको सहयोगमा २०५२ सालमा बनेको सो ट्यांकी चुहिन थालेपछि दुर्घटनाको त्रास बढेको छ । मेचीनगर–५ स्थित खानेपानी कार्यालयको परिसरमा रहेको सो ट्यांकी वास्तवमा एक वर्षअघिदेखि चुहिन थालेको समितिका अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

खानेपानी तथा ढल निकास विभागका योजना प्रमुख दीपक पुरीले स्थानीय जनशक्तिले चुहावट टाल्न असम्भव भएको बताउँदै जापानी संस्था जाइकासँगै प्राविधिक सहयोग मागिएको जानकारी दिनुभयो ।

समितिबाट धुलाबारी क्षेत्रमा तीन हजार १०० धारा जडान गरेर शुद्ध पिउने पानी वितरण गरिँदै आएको छ । खानेपानीको मुहान शान्तिनगर गाविस–९ स्थित पहाडको फेदीमा छ । केही वर्षयता लगातार आइरहेको पहिराले मुहानसमेत धरापमा पारेको समितिले जनाएको छ ।

ट्यांकीको चुहावट अविलम्ब समाधान गर्न अगुवा उपभोक्ताले माग गरेका छन् । ट्यांकी चुहिँदा वरपरका बासिन्दामा दुर्घटना हुने हो कि भन्ने आतङ्क छाएको स्थानीयवासी गोपाल बुढाथोकी बताउनुहुन्छ ।

प्रतिक्रिया