मोरङमा ८५ हजार निरक्षर

इनेप्लिज २०७१ फागुन ३० गते ९:०५ मा प्रकाशित

Morang_district_location_mapबरगाछी(विराटनगर), ३० फागुन । नेपालको सबै प्रकारका सुविधा र विकसित मानिएको मोरङ जिल्लामा अझै पनि भन्डै ८५ हजार व्यक्ति निरक्षर रहेका छन् ।

जिल्ला शिक्षा कार्यालयका अनुसार ८३ हजार ७९७ जना शिक्षाको उज्यालो पाउनबाट वञ्चित हुन् । साक्षर बनाउने अभियान मोरङमा पनि थालिएको छ । सबैलाई साक्षर बनाउने उद्देश्यलेसरकारले मोरङ जिल्लामा पनि सघन साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

अनौपचारिक शिक्षा केन्द्रद्वारा सञ्चालित साक्षरता कार्यक्रम जिल्लाका ३ गाविस तथा विराटनगर उपमहानगरपालिकामा सञ्चालन हुँदै आएको छ । सघन साक्षरता कार्यक्रम विराटनगर र बाहुनी गाविसमा माघ १० गतेदेखि र अन्य गाविसमा फागुन १ देखि सुरु भएको छ ।

निरक्षरलाई तीन महिनाभित्र साक्षर बनाउने उद्देश्यले अभियान सुरु गरिएको केन्द्रका निर्देशक मेघबहादुर केसीले जानकारी दिनुभएको छ ।

सरकारले बजेट भाषणमा गरेको घोषणासँगै सुरु भएको सघन साक्षरता कार्यक्रम नेपालका १७ जिल्लामा सञ्चालित छन् । कार्यक्रम तीन महिना सञ्चालनमा हुनेछ ।

जिल्लाका चार हजार १४ केन्द्रमार्फत साक्षरता कार्यक्रम सञ्चालन भइरहेको केसीले जानकारी दिनुभयो । प्रत्येक केन्द्रमा २० जनाका दरले तालिम लिइरहेका छन् । केन्द्रमा ५० वर्षदेखि ७० वर्षका वृद्ध सहभागी भएर तालिम लिइरहेको जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी फणीन्द्र खत्रीले जानकारी दिनुभएको छ ।

जिल्लामा साक्षर दर ६७ प्रतिशत रहेकामा तालिमपछि ९० प्रतिशत साक्षर हुने जिकिर जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया