पश्चिमाले नेपालमा धर्मयुद्ध गराउन खोज्दैछन्: खड्का

इनेप्लिज २०७१ फागुन ३० गते ८:४३ मा प्रकाशित

२९ गते फागुन । शुक्रवार काठमाडौंमा प्रशासनलाई समेत विना सूचना आकस्मिक रूपमा हजारौंको सँख्यामा मोटरसाईकल र्याली निस्क्यो । संयुक्त सनातन मोर्चाका केन्द्रीय संयोजक डा. मिठाराम विश्वकर्मा आफैले नेतृत्त्व गरेको सो र्याली बाफलचोकबाट निस्केर कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली हुँदै केही समय नयाँ बानेश्वरको निषेधाज्ञा रेखामा पुगेर अडिएको थियो । केहीसमय पछि प्रहरीको पहरामा सो र्यालीलाई तीनकुने पुर्याइएको थियो । शुरुमा र्याली कलंकी पुग्दा केको भिड हो प्रहरी नै अक्क न बक्क परेको थियो । ठूलो भीड देखेपछि कलंकीबाट प्रहरीको एउटा भ्यान पछि लाग्यो । र्याली ठूलो भएको हुनाले सडकको ट्राफिक व्यवस्था अस्तव्यस्त हुनपुगेको थियो । ॐकारको झण्डा र राष्ट्रिय झण्डामात्रै लिएर निस्केको सो र्यालीका सहभागीहरू सडकमा अन्य सवारीसाधनसँगै अघि बढेका थिए जसले गर्दा कोही कालिमाटी पुगिसकेका थिए भने कोही कलंकीतिरै थिए, लामो लस्कर रहेकोले प्रहरीले के हो भन्ने नै ठम्याउन सकेको थिएन । कालिमाटीबाट अर्को प्रहरीको भ्यान पछि लाग्यो यसै गरी त्रिपुरेश्वर हुँदै नयाँ बानेश्वर पुग्दा र्यालीलाई पहरा दिन चारवटा प्रहरी भ्यानलाई भ्याइनभ्याई थियो ।
र्यालीको अवस्थालाई हेर्दा यस्तो लाग्थ्यो ‘हिन्दूहरूले पनि यस्तो खालको प्रदर्शन गर्न जान्दा रैछन्’ । प्रहरीप्रशासन र सञ्चार जगतलाई विनाखबर आयोजना गरिएको सो र्याली सनातन हिन्दू राष्ट्र नेपाल नागरिक संघर्ष समितिका संयोजक हरिबोल भट्टराईको अगुवाईमा गरिएको हिन्दू आन्दोलनको समर्थनमा संयुक्त सनातन मोर्चाले निकालेको थियो । सो र्याली तीनकुनेमा गएर सभामा परिणत भएको थियो । सोसभालाई खुमबहादुर खड्का, हरिबोल भट्टराईलगायतले सम्बोधन गर्नुभएको थियो ।
सम्बोधनको क्रममा पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका बरिष्ट नेता खुमबहादुर खड्काले अनादि देखि चल्दै आएको र नेपालको मौलिक पहिचान एवम् परिचयको रूपमा स्थापित हिन्दू धर्म तथा हिन्दू राष्ट्रलाई निमिट्यान्न पार्न पश्चिमाहरूले ठूलो चलखेल गरिरहेको प्रति सबै नेपाली होसियार हुनपर्ने बताउनु भयो । पश्चिमाहरूले नेपालमा धर्म युद्ध गराउन खोज्दैछन्, जतिसुकै विदेशी चलखेल भएपनि हिन्दूराष्ट्र कायम गराएरै छाडिने र संविधानमा हिन्दूराष्ट्र उल्लेख नभएमा सो संविधान जनताले नस्वीकार्ने तथा त्यस्तो संविधान च्यातिने बताउनु भयो । आवश्यक परे धर्म बचाउन कुनै पनि प्रकारको संघर्ष गर्न तयार रहन पर्ने उहाँको भनाइ थियो । यसै गरी संघर्ष समितिका संयोजक हरिबोल भट्टराईले धर्मनिरपेक्षता नेपालीहरूको चाहना नभएर डलरको खेल भएको बताउनु भयो ।
प्रशासन र सञ्चारलाई विनाखबर गरिएको र्यालीको बारेमा संयुक्त सनातन मोर्चाका संयोजक डा. मिठाराम विश्वकर्मालाई जिज्ञाशा राख्दा ‘गृहमन्त्रीले देशको शान्ति सुरक्षामा धर्मक्षेत्रबाट समस्या देख्नु भएछ, धर्मका अभियन्ताहरू प्रतिको उहाँको नकारात्मक चेष्टा सार्वजनिक रूपमा आइसकेको छ, सरकारको शान्तिसुरक्षा विनापनि धर्मक्षेत्रले आफ्नो कार्य शालिनतबरबाट गर्नसक्दा रहेछन् भन्ने सम्बन्धितहरूले जानुन भन्ने हाम्रो सन्देश हो । धर्मले शान्ति–सुरक्षा खलबलिने नभएर बरु शान्ति सुव्यवस्था र सुशासनमा जोड दिने हो । बरु यहाँ धर्मनिरपेक्षताको नाममा धार्मिक विस्तारवाद सामराज्यवाद लादेर परधर्मीहरूको पक्षमा यहाँको राज्य निकाय तथा नेतृत्त्वतहका नेताले लिफ्ट दिएर हाम्रो अनादिदेखिको धर्म, संस्कृति, सभ्यतामाथि बलात आक्रमण गर्न खोजिएको छ, धर्म युद्ध गराउन खोजिएको छ, जसले शान्तिसुरक्षा संकटमा छ । एक किसिमले भन्ने हो भने राज्य तथा राज्यको पहुँचमा पुगेका नेताहरूबाट नै यहाँको शान्ति सुरक्षामाथि खतरा भइरहेको छ नकि धर्म क्षेत्रबाट, यो कुरा राम्रोसँग सम्बन्धित सबैले बुझ्न पर्छ भन्ने मोर्चाको धारणा हो’ ।
यसै गरी डा. विश्वकार्माले अगाडि थप्ने भयो ‘र सञ्चार क्षेत्रको मामलामा त्यस्तो खबरै नगर्ने अभिप्राय चाही होइन, र्याली निकाल्ने तय मात्र अघिल्लो दिन साँझ भएको थियो, सञ्चारलाई खबर गर्ने समय अपुग पनि भयो र अर्को कुरा अहिलेसम्म सम्पादन गरिएका धर्मक्षेत्रका कार्यक्रमको रिपोर्टिङ्गको लागि सञ्चारलाई खबर गर्दा पनि अधिकांश सञ्चारले उपेक्षा गर्ने गरेको तितो अनुभव रह्यो, यसको मतलब सबै सञ्चार गृहलाई यो भन्न खोजिएको होइन जोजसले विधर्मीको तथा परधर्मीको चारो पाएर त्यसो गर्छन उनीहरूलाई मात्र भन्न खोजिएको हो । अब हामी चाहन्छौं हिन्दूधर्मलाई जतिपनि तौरतरिकाले अपव्याख्या गर्ने, भ्रम सृजना गर्ने गरिएको छ र कुनै पनि हालतमा कुनै पनि मूल्यले पनि प्राप्त गर्न नसकिने अप्राप्य विषय विश्वमै एकमात्र हिन्दू
राष्ट्र भन्ने जुन पहिचान, परिचय र चिनारी छ त्यसलाई मेटाउन खोजिँदै छ, त्यो षड्यन्त्रविरुद्ध नेपालीले निर्णायक संघर्ष गर्दै छन् त्यसको जानकारी, सूचना, सन्देश र समाचारका लागि सञ्चारक्षेत्रले अब आँफै पनि चासो राख्न खोजोस जुन धर्म सञ्चारजगतको आफ्नो पनि हो, भन्ने हो, यस पछि गरिने कार्यक्रम आदिको बारेमा खबर हुनेछ त्यसमा सञ्चार जगतले अन्यथा मान्न पर्दैन’ डा. मिठारामले भन्नु भयो ।
समग्रमा वक्ताहरूको भनाई, कार्यक्रमको रूप आदिलाई हेर्दा नेपाललाई हिन्दू राष्ट्र कायम गराउनको सनातन धर्मक्षेत्र भित्रभित्र विशेष खालको तयारीमा जुटिरहेको प्रत्याभूति गर्न सकिन्छ ।

प्रतिक्रिया