डोटीमा माटो खनिरहेका तीन महिलाको पुरिएर मृत्यु, आठ घाइते

इनेप्लिज २०७१ फागुन २८ गते ८:०२ मा प्रकाशित

Doti_district_locationकाठमाडौँ, २८ फागुन । डोटीको कपल्लेकी गाविस–९ सेरीमा माटो खन्ने क्रममा बिहीबार बिहान पुरिएर तीन महिलाको ज्यान गएको छ । यो घटनामा अन्य आठ जना महिला घाइते भएका छन् ।

क्षेत्रीय प्रहरी कार्यालय दिपायलका प्रहरी उपरीक्षक हिम कुमार लामाले दिएको जानकारी अनुसार माटो खन्ने क्रममा पुरिएर कपल्लेकी गाविस–९ सेरीका २३ वर्षीया काली भूल, २२ वर्षीया सीता भूल र १८ वर्षीया कुमारी भूलको मृत्यु भएको हो । तीनै जनाको उपचारका लागि राजपुर लैजाने क्रममा बीच बाटोमै मृत्यु भएको हो ।

घाइते हुनेहरुमा कपल्लेकी गाविस–९ सेरीकै परु भूल, कल्पना भूल, देवी भूल, सरस्वती भूल, हेमा भूल, देविसरा भूल, गीता भूल र लक्ष्मी भूल रहेका छन् । घाइते कल्पना र देविसराको दायाँ खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । उनीहरुको राजपुरस्थित सुजङ्ग अस्पतालमा उपचार भइरहेको छ ।

एउटै टोलका १८ जनाको समूह घरमा लिपपोत गर्न माटो लिन गएका थिए । माटो खन्दै गर्दा एक्कासी ढिस्को खसेपछि उनीहरु पुरिएका हुन् । नेपाली सेनाको दिपायलस्थित पृतनाको टोली र स्थानीय बासिन्दाले घाइतेहरुको उद्धार गरेको हो ।

घटनास्थल डोटी सदरमुकाम दिपायलबाट तीन घण्टा पैदल दुरीमा पर्छ ।

प्रतिक्रिया