नुवाकोटमा ब्लड बैंक सञ्चालन

इनेप्लिज २०७१ फागुन २७ गते १:५० मा प्रकाशित

blood-bank

नुवाकोट, २७ फागुन । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटले जिल्लामा ब्लड बैंक अर्थात् रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याएको छ ।

रक्त सञ्चार केन्द्रको अभाव रहँदा जिल्लामा शल्यक्रिया गर्ने बिरामीले बेहोर्दै आएको समस्यालाई मध्यनजर गर्दै रेडक्रस नुवाकोटले औपचारिकरुपमा सोमबारदेखि नुवाकोटमा ब्लड बैंक सञ्चालनमा ल्याएको हो ।

सो केन्द्रमार्फत शल्यक्रिया गर्ने बिरामीका लागि रगतको माग सम्बोधन गर्न विभिन्न निकायको पहलमा रक्तसञ्चार केन्द्र सञ्चालनमा ल्याइएको सोसाइटी नुवाकोटका सभापति सुरतबहादुर चित्रकारले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल त्रिशूलीको परिसरमा स्थापना गरिएको रक्तसञ्चार केन्द्रको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जिव थापाले उद्घाटन गर्दै ‘रक्तदान जीवन दान’ भएकाले पुण्य कार्यमा सबैको सहयोग आवश्यक छ भन्नुभयो ।

अध्यक्ष थापाले मानिसले गर्ने अन्य दानभन्दा रक्तदानले अरुको जीवन बचाउनका लागि पुग्ने योगदानको कदर गर्दै सबैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर रक्तसञ्चार केन्द्रलाई व्यवस्थित बनाउन सरोकारवालालाई आग्रह गर्नुभयो ।

उद्घाटन समारोहमा सभासद् जगदीश्वरनरसिंह केसी, सहायक प्रमुख जिल्ला अधिकारी तीर्थबहादुर अधिकारी, नेपाली काँग्रेस नुुवाकोट सदस्य राजु थापा, नेकपा (एमाले) नुवाकोट उपाध्यक्ष बिन्दा ढुङ्गाना, त्रिशूली अस्पताल सरोकार समितिका अध्यक्ष रमेश श्रेष्ठलगायतले सो केन्द्रको निरन्तरताका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

नुवाकोटमा रक्तसञ्चार केन्द्र नहुँदा जिल्ला अस्पताल त्रिशूलीमा मुख्य गरी महिलामा रहेका स्त्रीरोगसम्बन्धी जटिल शल्यक्रिया गर्दा समस्या हुँदै आएको थियो भने विभिन्न दुर्घटना तथा भैपरी आउने घटनामा आवश्यक पर्ने रगतको आभाव बिरामी आफैँले व्यवस्थापन गर्दै आउनुपर्ने बाध्यता रहेको थियो ।

रगतको अभाव बिरामीले व्यवस्थापन नगर्दा फैस्ट रैफल गण देवीघाट, सैन्य तालिम केन्द्र विदुरका नेपाली सेनाको जवान तथा जिल्ला प्रहरी कार्यालय नुवाकोटमा रहेका प्रहरी जवानले रगतको अभाव भएका बिरामीको लागि रक्तसञ्चार केन्द्रको रुपमा रगत उपलब्ध गराउँदै मानवीय सेवा पु¥याउँदै आएका थिए ।

यसैबीच रक्त सञ्चार केन्द्र सञ्चालनमा आएको अवसरमा नेपाल विद्यार्थी सङ्घले यहाँ आयोजना गरेको रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन्् ।

रक्तदान कार्यक्रमको नेविसङ्घ नुवाकोट अध्यक्ष उत्तम पाठकले रक्तदान गरी उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया