एनआरएन अमेरिकाको अध्यक्षमा यसकारण मेरो उम्मेदवारी: गणेश कुँबर

इनेप्लिज २०७१ फागुन १३ गते १७:५६ मा प्रकाशित

Ganesh-Kunwar1

विविध कारणले आफ्नो जन्मभूमि नेपाल छोडेर विदेसिएका हामी सवैको साझा संगठन एनआरएन, एनसीसी अमेरिकाको नयाँ नेतृत्व छनोटको निम्ति हामी सवैको मनमा व्याकलुता छ, संयोजनकारी एवं प्रभावकारी नेतृत्व छनोट गर्ने हामी सवैको साझा चाहना छ । तपाईं हामी सबैको त्यही सुन्दर सपना र चाहनाको प्रतिनिधित्व गर्न कोही न कोहीले त हिम्मत गर्नैपर्छ भन्ने निष्कर्षका साथ एनआरएन, एनसीसी अमेरिकाको आगामी निर्वाचनमा अध्यक्ष पदमा मैले उम्मेदवारी दिने निर्णय लिएको छु । त्यस निर्णयको वारेमा मैले सामाजिक सञ्जालहरुमार्फत सम्भव सबैलाइ जानकारी गराएको थिएँ, आज फेरि मेरो उम्मेदवारीको पुनः एकपटक यहाँहरुलाई जानकारी गराउंदै यहाँहरुको सहयोगको निम्ति अनुरोध गर्दै केही कुराहरु राख्ने अनुमति चाहन्छु ।

जन्मभूमि नेपाल छोडेर प्रवासमा आउने सबैको जस्तो मेरो आफ्नै पनि एक खालको कथा छ । नेपालबाट झन्डै दुर्इ दशक पहिले अध्ययनको निम्ति म अमेरिका आएको हुँ ्र यहाँ आउने धेरै जसो विद्यार्थीहरुले जस्तै मैले पनि एउटा विद्यार्थीले अध्ययनको दौरान गर्ने सवै खालका संघर्ष गर्दै अध्ययन सम्पन्न गरेर आइटी इन्जिनिएर भएको हुँ । आफ्नो अध्ययन सकिएपछि आइटी इन्जिनियरको रुपमा जागिरे भै काम गर्ने सिलसिलामा मैले अमेरिकाका लगभग तीन दर्जन राज्यहरुमा पुगेको छु र जता जता पुगेको छु, त्यहाँ त्यहाँ प्रबासी नेपालीहरुका बिभिन्न संघसंस्थामा क्रियाशिल रहँदै आफूले सकेसम्म हाम्रो नेपाली समुदायको हितको निम्ति आफूलार्इ उपयोगी वनाएको छु । यहाँहरु मध्ये धेरैलाई थाहा पनि छ कि मैले प्रवासी नेपाली समुदायको हितको लागि आफ्नो क्षमता अनुसारको निरन्तर सहयोग पुर्याउने क्रममा कहिले पनि व्यक्तिगत लाभ वा अन्य कुनै प्रकारको फाइदाको लेखाजोखा गर्ने गरेको छैन र आगामी दिनमा पनि गर्नेछैन । सामाजिक सेवामा तल्लीन रहेर मैले बिताएको करिब दुई दशकमा मैले हाम्रो समस्याहरु वुझेको छु, हाम्रा समस्याका सुनुवाई नहुँदाका पीडा महशुस गरेको छु अनि प्रभावकारी नेतृत्व हुँदा र नहुँदा हाम्रा सामाजिक संस्थाहरुलाइ कस्तो प्रभाव पर्छ भन्ने पनि बुझेको छु । त्यसैले आफूले दुर्इ दशकमा देखे जानेको सीप, ज्ञान र अनुभबलाई समाजको हितमा लगाउने, सामाजिक सेवाको दौरान देखेका भोगेका समस्याहरुको समाधानको निम्ति भूमिका खेल्ने अनि प्रवासमा बसिरहेका नेपालीहरुलाई भावनात्मक रुपमा एकीकृत गर्दै लाने योजनाका साथ एनआरएन एनसीसी अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको जानकारी गराउन चाहन्छु ।

प्रायः सबै खालका संघसंस्थाहरुको नेतृत्व छनोटको दौरानमा चर्का कुरा गर्ने, उत्कृष्ट भाषण गर्ने अनि ठूला ठूला सपनाहरु देखाउने प्रवृति हामी सबैले देखेका छौं अनि सँगसँगै भाषण केवल भाषणमै सीमित भएको, देखाइएका सपनाहरु केबल सपनामै सीमित भएको पनि देखेका छौं । त्यसैले म ज्यादा भाषण र प्रचारमा भन्दा कार्य सम्पादनमा बिश्वास राख्दछु, ठूला ठूला कुरा गरेर सपना देखाउने भन्दा वास्तविक वस्तुस्थितिको अध्ययन गर्दै समयको आवश्यकता अनुसार संगठनलाई नेतृत्व दिनेछु्र यद्यपि कुनै पनि संगठनको नेतृत्व गर्छु भन्ने तर कुनै पनि कार्यक्रमनै प्रस्तुत नगर्ने भन्ने प्रश्नै हुँदैन, त्यसैले हाम्रो वास्तविकताको बोध गरेर यी कामहरु चाहिं गर्न सकिन्छ र गर्नुपर्छ भनेर मैले निम्न लिखित कार्यक्रमहरुलाई आफ्नो लक्ष्यको रुपमा घोषणा पत्रमा समावेश गरेको छु ।

१) सम्पूर्ण गैरआवासीय नेपालीहरुको सेवामा समर्पित रही गैरआवासीय नेपालीहरुको साझा संस्था एनआरएनको सर्बोच्च निकाय आईसीसीले उठान गरेका विषयहरुलाई शिरोपर गर्दै क्रियाशील राष्ट्रमा उक्त निर्णयहरुको कार्यान्वयनका निम्ति सदैब सक्रिय रहनेछु ।

२) नेपालमा जन्मिएको नेपाली जहाँ वसेपनि नेपाली भन्ने सत्यलाई कानुनी रुपमै स्थापित गराउन गैरआवासीय नेपालीहरुको निम्ति दोहोरो नागरिकताको ग्यारेन्टीको सशक्त पहल गरिनेछ । साथै, गैरआवासीय नेपालीहरुलाई दोहोरो करको मारबाट उन्मुक्ति दिलाउनको निम्ति अत्यन्त गम्भीरताका कदम चालिनेछ र त्यसको निम्ति एनआरएन आईसीसीसंग हातेमालो गर्दै अघि वढनेछु ।

३) एनआरएनको इतिहास लामो भएर पनि एनसीसी, युएसएको गठनमा गरिएको ढिलाईले गर्दा संस्थागत बिकास यथेस्ट रुपमा हुन सकेको छैन, अमेरिका जस्तो सम्पन्न राष्ट्रमा बसोबास गर्ने हामी सबैको निम्ति यो ठूलो चुनौतिको विषय हो, तसर्थ एनआरएनलाई डायस्पोराको तल्लो तहसम्म बिकास गरी एनआरएनलाई हुने खानेदेखि गरिखानेसम्म सबैको अपनत्व महसुस गराउनको निम्ति क्रियाशील रहनेछु ।

४) संस्थालाई राज्य र क्षेत्रगत तहसम्म गठन गरी प्रत्यक्ष रुपमा केन्द्रीय निर्वाचन गराई निर्वाचनलाई अरु सहज, समावेशी र प्रभाबकारी बनाउन लागि पर्नेछु ।

५) अमेरिका आफैमा अबसरको मुलुक हो, प्रत्येक सदस्यले तिरेको सदस्यता शुल्कका आधारमा कुनै आर्थिक लाभान्मुख संस्थासँग समन्वय गरी प्रत्येक सदस्यले आर्थिक छूट तथा प्रमोशन प्राप्त गर्न सक्ने ब्यबस्था गरी सदस्यता शुल्क दान होइन प्राप्ति हो भन्ने अनुभूति गराई सदस्यताको बृद्धितर्फ ध्यान केन्द्रित गर्नेछु । एनआरएनको सदस्यता लिन अमेरिकामा बस्ने प्रत्येक नेपालीहरुनै जागरुक भै आफै सदस्य वन्न तम्सिने अवस्था सिर्जना गर्नेछु । आफूले गरेको कामले संस्थाप्रतिको आकर्षणमा वृद्धि गराई संस्थाले व्यक्ति होइन, व्यक्तिले संस्था खोज्ने अवस्था सिर्जना गर्ने गराउनेमा भुमिका खेल्नेछु । अर्को निर्वाचनसम्ममा अमेरिकामा बसिरहेका नेपालीहरुको संख्या खोज्न एनआरएन अमेरिकाको सदस्यता संख्या हेरे पुग्ने अवस्था बनाउने लक्ष्यसहित अगाडि बढने छु ।

६) अमेरिकन डायस्पोरामा बामेसर्दै गरेको एनसीसीका कार्यशैलीमा तदारुकता र आर्थिक पारदर्शिताको निति अपनाई संस्थाका सम्पूर्ण आर्थिक क्रियाकलाप उपयुक्त माध्यमद्वारा आम सदस्य सामू प्रस्तुत गर्नेछु ।

७) एनआरएन एनसीसीका सदस्यहरुलाई सदस्यता कार्ड बितरण गर्ने ब्यबस्था भएतापनि उक्त कार्यको निम्ति सबैको सहज पहुंच नभएकोले यसलाई सम्बन्धित निकायसंग परामर्श गरी संस्थामार्फत सदस्यहरुलाई राज्य र क्षेत्रीयस्तरमा सदस्यता बितरणको ब्यबस्था गर्नेछु, त्यसले गर्दा सदस्यहरुको प्रमाणीकरण पनि सहज र विश्वश्नीय हुनेछ भन्ने ठानेको छु ।

८) एनआरएनद्वारा एनआरएनकै निम्ति बिकासका लागि आर्थिक सम्बृद्धिः अहिले पनि हामी नेपालीहरु प्रबासमा पहिचानको संकटबाट गुज्रिरहेको अबस्था छ ।

राष्ट्रिय बिभूति र प्राकृतिक सम्पदामार्फत नेपालको परिचय हाम्रो बाध्यता हो । अवसरको मुलकमा भएर पनि उचित ज्ञान र सामूहिक अभ्यासको अभाबको कारण नेपाली समुदायले आर्थिक फड्को मार्न सकेको छैन, हामीमा निहित मानब शंसाधन, सीप, ज्ञान र पूँजीको सामूहिक लगानी गर्दै समुदायको आर्थिक प्रगति गर्न आबश्यक छ । बिपन्न समाजमा बिकासका कुरा सम्भब छैन ्र तसर्थ विषयगत विज्ञहरुसँगको परामर्शमा लगानीका श्रोतको सृजना र उपयोग गर्दै नेपाली समुदायको आम्दानी वढाउने उपायको खोजी गर्दै नेपाली समुदायको बृहत्तर हितका लागि म सदैब क्रियाशील रहनेछु ।

९) गैरआवासीय नै भएपनि हामी नेपाली नै हौँ र नेपालप्रति पनि हाम्रो दायित्व छ भन्ने कुराको मनन गर्नुपर्छ । त्यसैले नेपाल र नेपालको सुन्दरतालाई आफू बस्ने देशका जनताहरुलाई चिनाउने र हाम्रो सुन्दर देश भ्रमणको निम्ति उनिहरुलाइ अभिप्रेरित गर्ने कार्यमा ठोस कदम चाल्नेछु । अमेरिकामा रहेका नेपालीहरुको सम्वृद्धि तर्फ ध्यान पुराउनुको साथसाथै नेपालको आर्थिक विकासको लागि गैरआवासीय नेपालीहरुद्वारा नेपालमा लगानी गर्ने सहज वातावरण निर्माणको निम्ति पहल गर्नु मेरो प्रमुख मुद्दा रहने छ ।

१०) हामी सवैमा केही सवलता अनि केहि दुर्वलता पक्कै हुन्छ, त्यसैले हामी एक आपसमा मिलेर जति राम्रो गर्न सक्छौं त्यति एक्लै गर्नै सक्दैनौ । त्यसैले योग्यता, क्षमता अनुसारको उचित जिम्मेवारी प्रदान गर्दै परिणाममुखी ढङ्गले संस्थाको संचालन र विकासमा मेरो जोड रहनेछ ।

जसको निम्ति एनआरएन एनसीसी अमेरिकालाई सामूहिक नेतृत्व व्यक्तिगत जिम्मेवारीको अवधारणा बमोजिम क्याविनेट प्रणाली अनुसार संचालन गरिनेछ ।

माथि उल्लेखित कार्यक्रमहरु मेरा प्रमुख लक्ष्यहरु रहेको भएपनि आगामी दिनमा समयको मागको आधारमा थुप्रै अन्य हितकार योजना र कार्यक्रमहरु लिएर आउनेनै छु र आफूले अगाडि सारेको लक्ष्य प्राप्तिको निम्ति सदैव कटिवद्ध रहनेछु । संगठनको नेतृत्वको दौरान सबै अग्रजहरुको अनुभबको उपयोग र युवाहरुको जोश र जाँगरको सुदुपयोग गर्दै काम गर्ने छु्र, मेरो उम्मेदवारी कर्ममा विश्वास राख्नेहरुको निम्ति हो, मेरो उम्मेदवारी सकारात्मक सोचका साथ अगाडि वढ्ने चिन्तन भएकाहरुको निम्ति हो र मेरो उम्मेदवारी सम्वृद्ध नेपाल र सम्पन्न नेपाली भन्ने परिकल्पनालाइ साकार पार्नको निम्ति हो । हामी सवैको साझा चाहना पूरा गर्ने महान कार्यको निम्ति नै मैले उम्मेदवारी दिने निर्णय गरेको हुँ, सबै पेशागत, बुद्धिजीबी, महिला तथा कलाकर्मीहरुका सुझावहरु मेरा निम्ति सदैव मार्गदर्शक रहनेछन्र्, यसपटकको निम्ति एनआरएन अमेरिकाको नेतृत्व गर्न सक्षम उम्मेम्दवारको रुपमा मलाई यहाँहरुको विश्वास प्राप्त हुनेछ र यस पटकको एनआरएन एनसीसीको निर्वाचनमा मलाई आफ्नो अमुल्य मत दिएर यहाँहरुले बिजय गराउनु हुनेछ भन्ने विश्वास लिएको छु । निर्वाचित भएर यहाँहरुको सामु प्रस्तुत योजनाहरुको कार्यान्वयनको प्रतिवद्धता व्यक्त गर्दै विजयी हुन आवश्यक यहाँहरुको अमुल्य मतको निम्ति यहाँहरु सवैलाई अग्रीम धन्यवाद दिन चाहन्छु ।

धन्यवाद,

गणेश कुँवर
एनआरएन एनसीसी अमेरिकाको अध्यक्ष पदको उमेदवार

प्रतिक्रिया