काठमाडौँ, १३ फागुन । धार्मिक तथा पर्यटन विषयका ज्ञाता पूर्व राष्ट्रसेवक तुलसीनाथ घिमिरेद्वारा लिखित ‘विविध धर्म’ नामक पुस्तक हालै अमेरिकाको टेक्सासमा विमोचन गरिएको छ ।
अन्तर्राष्ट्र्रिय नेपाली साहित्य समाज (अनेसास) ह्युस्टन च्याप्टरद्वारा आयोजित समारोहमा सो संस्थाका संस्थापक अध्यक्ष गंगा लिगलले पुस्तकको विमोचन गर्नुभयो ।
त्यस अवसरमा लेखक घिमिरेले सबै धर्मको आ–आफ्नो महत्व हुन्छ, कुनै पनि धर्म ठूलो वा सानो हुँदैन भन्दै हरेक व्यक्तिले आफ्नो धर्मबारे गहिरो जानकारी राख्नु आवश्यक छ भन्ने धारणाले उक्त पुस्तक लेख्न आफू प्रेरित भएको बताउनुभयो ।
लेखक घिमिरेका यसअघि नियात्रा र संस्मरणसम्बन्धी तीनवटा पुस्तक प्रकाशित भई सकेका छन् ।
पुस्तकको समीक्षा गर्दै रत्न निरौलाले नेपालमा रहेका विभिन्न जातजातिले अपनाउने धर्मबारे महत्वपूर्ण जानकारी सरल भाषाशैलीमा प्रस्तुत गरिएकाले पुस्तक सबैका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
विमोचनका क्रममा लिगलले नेपाली धर्म, संस्कृति र साहित्यको आलोक विश्वभर फैलाउन यस्ता कृतिहरुले प्रभावकारी भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा आयोजक संस्थाका उपाध्यक्ष शेष शर्मा र वासु पौडेलले संस्थाको गतिविधिबारे चर्चा गर्नुभयो भने सरिता आचार्यले गीत सुनाउनुभएको थियो ।
कार्यक्रमको प्रारम्भमा टेक्सासस्थित बालविकास पाठशालाका गुरुमाद्वय विद्या गौतम र हरिकला काफ्लेका साथै बालबालिकाद्वारा राष्ट्रिय गान र सरस्वती वन्दना प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया