पत्रकार खड्कालाई धम्की

इनेप्लिज २०७१ फागुन ११ गते १३:४९ मा प्रकाशित

मेलम्ची, ११ फागुन । कारोबार दैनिक सिन्धुपाल्चोकका संवाददाता टङ्क खड्कालाई दुई व्यापारीले धम्की दिएका छन् ।

खड्काले केही दिनअघि एक रोपनीको वार्षिक भाडा १६१ रुपैयाँ शीर्षकमा छापिएको समाचारलाई लिएर जग्गा भाडामा लिनेहरू रवीन्द्र श्रेष्ठ र सुदर्शन प्रधानले खड्कालाई समाचार किन छापिस् भन्दै धम्की दिएका हुन् । उनीहरूले खड्कालाई जग्गाको समाचार नलेख्न र लेखेमा जे पनि गरिदिने धम्की दिएका छन् ।

‘हामी चौताराको मान्छे हौँ हामीले चाहे जे पनि गर्न सक्छौँ’ भनेर उनीहरूले थर्काएर धम्की दिएको खड्काले बताउनुभयो । ती व्यापारीले खड्कालाई तथा नाम भनी मौका परे देखाइदिने भन्दै मान्छे नचिन्दा दुःख पाइने भनेको खड्काले जानकारी दिनुभयो ।

तर व्यापारी श्रेष्ठ र प्रधानले भने आफूहरूले धम्की दिएको कुरा गलत भएको र आफूले पत्रकार खड्कालाई केही नभनेको प्रष्टिकरण बताउनुभयो ।

उनीहरूले ऐँसलुखर्क उमावि बाँडेगाउँको नाममा नवलपुरमा रहेको ९०० रोपनी जग्गा कौडीको भाउमा भाडा सम्झौता गर्दा १३ घर स्थानीय विस्थापित हुने अवस्थामा छन् भने दर्जनौँ परिवार सुकुम्बासी हुने भन्दै स्थानीयले आन्दोलनको तयारी अगाडि बढाएको छ ।

प्रतिक्रिया