राष्ट्रपति ओबामाको अध्यागमन सुधार घोषणा लागु नगर्न अदालती आदेश

इनेप्लिज २०७१ फागुन ११ गते ३:२२ मा प्रकाशित

 

 

immigration-reformपुरुषोत्तम ढकाल, लस एन्जलस, १० फागुन । अमेरिकी राष्ट्रपति बराक ओबामाले राष्ट्रपतिको कार्यकारी अधिकार प्रयोग गरी घोषणा गरेको बृहद अध्यागमन सुधार लागु नगर्न टेक्सास जिल्ला अदालतले एक आदेश जारी गरेको छ । रिपब्लिक बहुल २६ राज्यले दिएको निवेदनउपर टेक्सासस्थित जिल्ला अदालतका न्यायाधीश एन्ड्रयु ह्याननले एक आदेश जारी गर्दै राष्ट्रपति ओबामाले घोषणा गरेको बृहत अध्यागमन सुधार कार्यान्वयन प्रक्रिया रोकेका हुन् ।

टेक्सासस्थित जिल्ला अदालतका न्यायाधीश एन्ड्रयु ह्याननको आदेशले अनाधिकृत रुपले अमेरिकामा बसोबास गरिरहेका झन्डै एक करोड दश लाख आप्रवासीको समस्या समाधान गर्ने प्रक्रिया अन्तर्गत राष्ट्रपति ओबामाले राष्ट्रपतिको कार्यकारी अधिकार प्रयोग गरी घोषणा गरेको बृहद अध्यागमन सुधार घोषणा अनिश्चित कालको लागि अवरुद्ध समेत बनेको छ ।

राष्ट्रपति ओबामाले अदालतको आदेश लगत्तै निर्णय प्रति असहमति जनाउदै पुनरावेदन दिने तयारी गरेका छन् ।ओबामाले अदालतको आदेश लगत्तै बृहत अध्यागमन सुधार घोषणा कार्यान्वयन प्रक्रियाका विषयमा प्रशासन अदालतबाट सही ठहर हुने प्रतिक्रिया दिएका छन् । राष्ट्रपति ओबामाले संचारकर्मीहरुलाई भने, ‘कानुन तथा इतिहास दुबै आफ्नो पक्षमा रहेको र बृहद अध्यागमन सुधार घोषणा निकट भविष्यमै सहि साबित हुने छ ।’

ओबामाले व्हाइट हाउस प्रशासनले न्यायाधीश ह्याननको आदेशलाई सम्मान र पालना गर्दै गैरकानुनी आप्रवासीहरुको हितमा घोषणा गरिएको बृहत अध्यागमन सुधार कार्यक्रम बुधबारदेखि आवेदन खुल्ला गर्न लागिएको तर अदालतको आदेशको सम्मान गर्दै केहि समयको लागि स्थगित गर्ने बताएका छन् । राष्ट्रपति ओबामाले व्हाइट हाउस प्रशासन यो कानुनी मुद्दा पूर्ण रूपमा समाधान नभएसम्म आफ्नो आदेशको कार्यान्वयन गर्ने कार्य रोक्न तयार रहेको बताउँदै अमेरिकी आप्रवास प्रणालीलाई व्यापक रूपमा सुधार गर्ने कानुन पारित गर्न कङ्ग्रेसलाई आह्वान समेत गरेका छन् ।

राष्ट्रपति ओबामाले जिल्ला न्यायाधीश ह्याननको प्रारम्भीक निषेधाज्ञाको आदेशका विषयमा न्यु ओरलिन्सस्थित पाँचौँ सर्किट पुनरावेदन अदालतमा न्याय मन्त्रालयले पुनरावेदन दिने जानकारी दिएका छन् ।

यस अघि राष्ट्रपति ओबामाले गत वर्ष नोभेम्बर २० मा आफ्नो कार्यकारी अधिकार प्रयोग गर्दै बृहद अध्यागमन सुधार घोषणा गरेका थिए । राष्ट्रपति ओबामाको बृहद अध्यागमन सुधार घोषणालाई लगत्तै रिपब्लिकन सांसदहरू राष्ट्रपति ओबामा संविधानले दिएको अधिकारभन्दा बाहिर गएको भनी आलोचना गरेका थिए ।

न्यायाधीश ह्याननको आदेश लगत्तै टेक्सासका रिपब्लिकन गभर्नर ग्रेग एबोटले भनेका छन्, ‘न्यायाधीश ह्याननले राष्ट्रपतिलाई आफ्नो मार्गबाट बाहिर जान रोक्न गरेको निर्णय सही छ । रिपब्लिकन गभर्नर ग्रेग एबोटको आरोप थियो काँग्रेसले पारित गरेको कानुनलाई राष्ट्रपति ओबामाले आफ्नो कार्यकारी आदेशमार्फत तोडेकाले उनले आफ्नो राष्ट्रपतिको जिम्मेवारी परित्याग गरेको थिए ।

यस अघि राष्ट्रपति ओबामाको बृहद अध्यागमन सुधार घोषणा अन्तर्गतको कार्यकारी आदेशले अमेरिकामा बसोबास गरिरहेका ४७ लाख गैरकानुनी आप्रवासीलाई कानुनी दायरामा ल्याउने र देश फिर्ता हुनबाट रोक्ने अपेक्षा गरिएको थियो । राष्ट्रपति ओबामाको बृहद अध्यागमन सुधार घोषणाले विशेष गरी अमेरिकी नागरिक भइसकेका वा अमेरिकामा कानुनी रूपमा स्थायी बसोबास गरिरहेका छोराछोरीका ४४ लाख आमाबाबुलाई उनीहरूको मुलुक फिर्ता पठाउनबाट जोगाउने लक्ष्य राखिएको थियो ।

राष्ट्रपति ओबामाको बृहद अध्यागमन सुधार घोषणाबाट गैरकानुनी रूपमा अमेरिका ल्याइएका दुई लाख ७० हजार अनाधिकृत आप्रवाशीलाई समेत अमेरिकामा काम गर्न अनुमति दिने अवस्था बुधबार नै लागु हुने सम्भावना रहेको थियो । अदालतको यो आदेश संगै सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचन पनि अनाधिकृत आप्रवाशीहरुको मुद्धाले प्रभावित हुने निश्चित भएको छ ।

स्मरण रहोस सन् २०१३ मा संसदको माथिल्लो सभा सिनेटबाट अनुमोदित बृहद अध्यागमन सुधार रिपब्लिकन बहुल प्रतिनिधिसभाले अनुमोदन नगरी रोकेको थियो ।

राष्ट्रपति ओबामाको बृहद अध्यागमन सुधार घोषणासंग असहमत रिपब्लिकनहरुले दिएको निबेदनका आधारमा टेक्सास जिल्ला अदालतले गरेको यो आदेशले बृहद अध्यागमन सुधारलाई असफल र प्रभावित पारेको हुँदा आसन्न २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकनहरूले ठुलो संख्याको हिस्पानिक मत गुमाउने अनुमान गरिएको छ जसका कारण संभावित डेमोक्र्याट उम्मेदबार हिलारी रोधम क्लिन्टन सहजै राष्ट्रपति बिजयी हुने आंकलन गरिदै छ ।

प्रतिक्रिया