पानीको हाहाकारपछि गाउँ छाड्न बाध्य

इनेप्लिज २०७१ फागुन १० गते १०:५४ मा प्रकाशित

water_20140531010048मेलम्ची, १० फागुन । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१० मा खानेपानीको हाहाकार भएपछि गम्भीरमान राजभण्डारीको परिवारै बसाइँ सर्‍यो । एक गाग्री पानीकै लागि सिङ्गो बिहान खर्चिनुपर्ने भएपछि राजभण्डारी परिवार आफ्नो पुख्र्यौली गाउँ छाड्न बाध्य बनेको हो ।

दैनिक आवश्यकताका लागि खानेपानीको सहज आपूर्ति नभएपछि राजभण्डारीसहित पाँच परिवारले गाउँ छाडिसकेका छन् । खानेपानी अभावकै कारण आफ्नो जन्मथलो छाडेर उनीहरु अर्काे गाउँ सरेका हुन् । स्थानीय हरेराम राजभण्डारीका अनुसार गाउँमा खानेपानी पर्याप्त नभएकाले गाउँबाट अन्तै बसाइँ सर्ने क्रम बढ्दै गएको छ ।

उहाँका अनुसार यहाँका कमलमान राजभण्डारी, पूर्णमान राजभण्डारी, कृष्णवीर सार्की र पञ्चराज राजभण्डारीको परिवारै पुख्र्यौली गाउँ छाडेर अन्तै सरेका हुन् । खानेपानीकै जोहो नभएपछि जीवनयापन कठिनाइ भएकाले यो गाउँका अन्य परिवारले पनि गाउँ छाड्ने हरेराम बताउनुहुन्छ । उहाँका अनुसार बसाइँ सर्न बाँकी रहेका परिवार खानेपानीको सहज आपूर्ति हुने स्थानको खोजीमा छन् । बसाइँ सरेकाहरु आफ्नो गाउँभन्दा तल्तिर बस्ने गरेका छन् ।

स्थानीय गीता श्रेष्ठ राजभण्डारीले भन्नुभयो – एक गाग्री पानी लिन पूरै बिहान खर्चिनुपर्ने भएकाले बसाइँ सर्न बाध्य भएँ । नयाँ आएको ठाउँमा अभाव रहे पनि पहिलाको तुलनामा सहज छ ।

मेलम्ची नगरपालिकाको फटकशीला क्षेत्रमा जताततै खानेपानीको अभाव छ । हाल नगरपालिका–११ स्थित तीनघरे टोलसमेत खानेपानी अभावले काकाकुल बनेको छ । खानेपानी लिन बिहान ४ बजे उठेर जाँदा पनि ८ बजेमात्रै घर आइपुगिने स्थानीय सिर्जना दनुवारले बताउनुभयो ।

गाउँमा बर्खाका बेला दुई महिनामात्रै पानी आउने गरेको र तीनघरेमा रहेका २८३ घरधुरीमा टोलपिच्छे ५÷६ घरको फरकमा पक्की धारा बनाइएको छ । धाराको प्रयोग हुन नसक्दा जीर्ण बनिसकेका छन् । पानी ल्याउन कम्तीमा दुई क्वाइल पाइप भए पुग्ने स्थानीय शक्ति दनुवारले बताउनुभयो ।

“नपुगेको पाइप पाइयो र धारोलाई पुनःनिर्माण गरे गाउँमा पानी आउने थियो,” दनुवारले भन्नुभयो । यो गाउँमा खानेपानीको समस्या अहिले सुरु भएको होइन । धेरै पहिलेदेखि नै यहाँका बासिन्दा खानेपानीको समस्या झेलिरहेका छन् । खानेपानीको सहज आपूर्तिका लागि स्थानीय जनताले अनेकौँ प्रयास गरे पनि अझै सफल हुन सकेका छैनन् ।

गाविस पनि ‘लिफ्ट सिस्टम’बाट खाने पानी ल्याउन तयार भएको थियो । स्थानीय शुक्रबहादुर दनुवार लिफ्ट सिस्टम यो गाउँमा सम्भव नहुने बताउनुहुन्छ ।

तीनघरेको दुनवार बस्ती रहेको २७ घरधुरी खानेपानीकै कारण अन्तै बसाइँ सर्नुपर्ने बाध्यतामा रहेका स्थानीयवासी शुक्रबहादुर दनुवार बताउनुहुन्छ ।

मेलम्ची नगरपालिका–१० मा पनि गाविसले लिफ्ट सिस्टमका लागि सर्भे गरेको थियो । तर, अहिलेसम्म सर्भेको प्रतिवेदन त्यत्तिकै थन्किरहेको छ । स्थानीयवासीका अनुसार इन्द्रावती नदीमा लिफ्टको प्रयोग गरी खानेपानी ल्याउन तत्कालीन गाविसले रु एक लाख ७५ हजार छुट्याएको थियो ।

प्रतिक्रिया