विद्युत् चोरी गर्नेको विद्युत् लाइन कटौती सुरु

इनेप्लिज २०७१ फागुन ६ गते ४:०४ मा प्रकाशित

kesc1_small-640x480मेलम्ची, ६ फागुन । सिन्धुपाल्चोक जिल्लाको विभिन्न क्षेत्रमा विद्युत् चोरीका घटना अत्याधिक बढेपछि नेपाल विद्युत् प्राधिकरणले कारबाही अगाडि बढाउन सुरु गरेको छ ।

अनाधिकृत रुपमा हुकिङ गर्ने, चोरी गर्ने र विद्युत्को दुरुपयोग गर्ने घटना बढ्दै गएकाले कारबाही गर्न सुरु गरेको नेपाल विद्युत् प्राधिकरण उपशाखा चौताराका प्रमुख अशोक चौधरीले बताउनुभयो ।

जिल्लामा यसअघि ४६ प्रतिशत विद्युत् चुहावट हुने गरेको तथ्याङ्क सार्वजनिक भएको थियो । त्यसलाई नियन्त्रण गर्न चासो राख्दै प्राधिकरणले गाउँगाउँमा अनुगमनसहित विद्युत् चोरी नियन्त्रण ऐनअनुसार कारबाही गर्न अभियान थालेको चौधरीले बताउनुभयो ।

विद्युत्को महसुल नतिर्नेमा धेरैजसो राजनीतिक दलका पार्टी कार्यालय रहेका छन् । विद्युत् उपयोग गरी दुई महिनाभन्दा बढीको महसुल तिर्न बाँकी रहेका ग्राहकको लाइन धमाधम काट्न सुरु गरिएको छ ।

लामो समयदेखि सूचना गर्दासमेत विद्युत् महसुल नतिरी बक्यौता राख्ने ग्राहकको लाइन काट्न थालेकाले यथाशीध्र बाँकी रकम तिर्न प्राधिकरण वितरण केन्द्र लामोसाँघुले आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया