होसियारः—————–अमेरिकामा त्याग्नैपर्ने ७ अस्वस्थकर खाध्यान्नहरू

इनेप्लिज २०७१ फागुन २ गते ७:५८ मा प्रकाशित

10924711_10152766127753999_5625107240531461399_n

स्वास्थ्य नै मुख्य धन हो’ स्वास्थ्य स्वस्थ रहन सकेन भने विलासी र सम्पन्न जीवन भए पनि यसको कुनै अर्थ र महत्व हुन सक्दैन । हाम्रा कतिपय उठबस, खानपिन र प्रयोग गरिने खाध्यान्न वस्तुहरूको असन्तुलित प्रयोग र खानपानका कारण अकालमा जीवन गुमाउनुपर्ने अवस्था एकातिर छँदैछ, अर्कोतिर जीवनभर अस्वस्थ र रोगी जीवन जीउनुपर्ने पीडादायक अवस्थाबाट गुज्रनुपर्ने हुन्छ ।

हाम्रो प्रवृत्ति भनेको आँखा दुःखेपछि मात्र आँखाको महत्व थाहा पाउने, टाउको दुःखे टाउको, पेट दुःखे पेट, नाक दुःखे नाक, कान दुःखे कान र मुटु दुःखेपछि मात्रै मुटुको महत्व बुझ्ने र घटनापछिको पश्चाताप र मृत्युपछिको औषधि भनेजस्तै ब्यवहार, प्रवृत्ति र संस्कारमा हुर्केका हौं । नपरे र नभोगेसम्म संवेदनशील नहुने प्रवृत्ति हाम्रा लागि कहिलेकाहीँ अत्यन्त महंगो र दुर्भाग्यपूर्ण हुने गरेको छ । सन्तुलित भोजन, सन्तुलित ब्यायाम र सन्तुलित स्वास्थ्य क्रियाकलाप भएन भने जीवन अस्वस्थकर भई कष्टपूर्ण हुन जान्छ ।

अमेरिका, जुन संसारको यस्तो मुलुक हो, जहाँ संसारभरिकै सबैभन्दा बढी विविध रंग, परिकार तथा विविध स्वाद र फरक–फरक खाद्य वस्तुहरू उत्पादन र उपभोग हुने गरेको छ । अमेरिकी सरकार र उपभोक्ताहरू खाद्य वस्तुहरूको उपभोग तथा प्रयोग गर्दा जति नै संवेदनशील र जागरुक भए पनि यहाँ उत्पादन र उपभोग हुने सबै खाद्य वस्तुहरू स्वस्थकर छैनन् र तिनले रोगको प्रतिशत बृद्धि गर्न टेवा पुर्याइरहेको देखिन्छ । अधिकांश पश्चिमी मानिसहरूको खाध्यान्नप्रतिको धारणा र मन्त्र नै ‘सर्वोपरी स्वतन्त्रता’ मा आधारित छ । तर, सत्यता के हो भने यसो भन्दैमा कुनै यस्ता वस्तु हुन्छन्, जुन जतिसुकै राम्रो र स्वादिष्ट भए पनि त्यसलाई नत्यागे मृत्यु भोग्नुपर्ने हुनसक्छ । हामीले के बुझ्नुपर्छ भने केही अस्वस्थकर खाध्यान्न वस्तुहरूबाट टाढा रहन सकेनौं भने अमेरिकामा मृत्युका १० वटा मुख्य कारणहरूमध्ये ४ वटा मुख्य मृत्युको कारण यी अस्वस्थकर खाध्यान्न नै हुने गरेको छ । मधुमेह, मुटु रोग, क्यान्सरलगायतका रोगहरू खासगरि यीनै अस्वस्थकर खाध्यान्नका कारण नै हुने गर्दछ । त्यसैले यस्ता वस्तुहरूबाट टाढा बस्नु नै उचित हुनेछ । त्यसैले अमेरिकामा खाध्यान्न र उत्पादनलाई हरित यात्रा (गो ग्रिन) भन्ने सिद्धान्तलाई स्थापित गर्न खोजिएको छ । यस लेखमा मैले यीनै ७ वटा अस्वस्थकर खाध्यान्न र यसबाट बच्ने र होसियार रहने उपाय उल्लेख गरेको छु ।

१. सोडा (पेय पदार्थ)

औसत रुपमा एक क्यान सोडामा चिनीको मात्रा १० चम्चा बराबर हुन्छ । यसमा एक सय ५० क्यालोरी, ३० देखि ५५ मिलिग्राम क्याफिन, कृत्रिम रंग र सल्फेट प्रयोग गरिएको हुन्छ । मधुमेह (डाइबिटिज) बाट बच्न डाइटवाला पेय पदार्थहरू पिउने गरेको देखिन्छ । यसमा पनि अस्वस्थकर कृत्रिम गुलियो पदार्थ प्रयोग गरिएको हुन्छ । स्वास्थ्यसम्बन्धी एक बुलेटिनको सर्वेक्षणमा के भेटियो भने ५६ देखि ८५ प्रतिशत बच्चाहरूले कमसे कम एक दिनमा एक क्यान विभिन्न प्रकारका पेय पदार्थ प्रयोग गर्ने गरेका छन् । त्यस्तै हुर्केका २० प्रतिशत युवा पुरुषहरूले त दिनमा झन्डै ४ क्यान वा त्यसभन्दा बढी पेय पदार्थ पिउने गरेका छन् । भर्खरैमात्र अमेरिकी उपभोक्ता समूह तथा उपभोक्ताका लागि विज्ञान केन्द्र भन्ने संस्थाले अमेरिकी संघीय सरकार फूड एण्ड ड्रग प्रशासनलाई यस्ता हल्का पेय पदार्थको उत्पादन गर्दा धुम्रपान र चुरोटमा जस्तै सावधानी र सतर्कता सन्देशहरू राख्न निवेदन दिएका छन् । मिनेस्टोटाको एक विश्वविद्यालयको अनुसन्धानमा के पत्ता लाग्यो भने एक हप्ताभन्दा बढी लगातार दुई वटा हल्का क्यान पेय पदार्थ पिउँदा दुई गुणा बढी क्यान्सरको जोखिम मोल्नुपर्नेछ । त्यसैगरी कालो रंगका सोडामा ४ मिथाइल मिडाजोलको रसायनिक प्रक्रियाबाट सोडाको कृत्रिम रंग तयार पारिन्छ । यो क्यान्सरको कारक बन्न सक्छ । भर्खरै क्यालिफोर्नियाको नयाँ कानुनअनुसार कोकाकोला र पेप्सी कम्पनीहरूले उनीहरूका उत्पादनमा क्यान्सर र सोडाको रंगको जोखिमलाई ख्याल गरी सोडामा क्यान्सरविरुद्धको सन्देश राख्ने घोषणा गरेका छन् । अमेरिकामा अधिकांश मोटा मानिसहरू यीनै सोडाको अत्यधिक प्रयोगबाट हुने गरेको देखाइएको छ । यतिमात्र होइन, सोडाबाट दाँतमा खरावी र क्याल्सियम खिइने हुँदा दाँत र गिजा सुरक्षणको लागि पनि सोडा प्रयोग नगर्नु नै उत्तम हुन्छ । त्यसैले आफू र आफ्ना बालबच्चाहरूलाई कुनै पनि प्रकारका सोडा प्रयोगमा वञ्चित गरौं र यसबाट हुने क्यान्सर र मोटोपनलाई घटाऔं ।
२. आलु चिप्स र फ्रेन्च फ्राइज

आलु चिप्स, फ्रेन्च फ्राइज तथा तयारी विविध चिप्सहरू उत्पादन गर्दा बढी तापक्रममा भुट्ने तथा पकाउने यस्ता खाध्यान्नहरूलाई अमेरिकामा ‘जंक फूड’ भनिन्छ । जसमा कारसिनोजिन र न्यूरोटोक्सिन जस्ता क्यान्सर जन्माउने रासायनिक तत्वहरू हुन्छन् । चिप्सहरूमा हुने यस्ता एक्रिलेमेड तत्वहरूका कारण हजारौं अमेरिकनहरूमा क्यान्सर हुने गरेको क्लर्क विश्वविद्यालयका प्राध्यापकहरूले बताएका छन् । फ्रेन्च फ्राइजमा त क्यान्सर जन्माउने दुई प्रकारका तत्व पाइएको छ । त्यसबाट मोटोपन बढ्ने, बोसो बढ्ने उच्च कार्वोह्राइडेड सोडियम पाइएको छ । यात्रा गर्दा वा छिटो छरितो खाजाका रुपमा रक्सी वा अन्य पेय पदार्थ पिउँदा प्रयोग गरिने यस्ता ‘जंक फूड’को प्रयोगले पाचन शक्तिमा असर गर्नुका साथै कालान्तरमा क्यान्सरको माध्यम भएकाले यस्ता वस्तुहरूको उपभोग आजैबाट बन्द गरौं ।

३. दुनोट, केक र माइक्रोवेभ पपकर्न

स्वादमा दुनोट, केक जस्ता उच्च तापक्रममा पकाइएका खानेकुराहरू स्वादिष्ट त हुन्छन् । तर, यस्ता वस्तुहरूमा चिनी, कृत्रिम रंग तथा तेल र बोसोको मात्रा अत्यधिक हुन्छ । जुन स्वास्थ्यका लागि दुर्भाग्य हुन्छन् । प्याकेटमा हुने केक र बिस्कुटहरूमा उच्च तेल तथा बोसोको पदार्थ मिश्रित गरिएको हुन्छ । प्रायशः मानिसहरूले विहानी खाना तथा भोक लाग्दा रुचाउने र खाइहाल्ने वस्तु केक तथा दुनोट घरमा नै कम चिल्लो र बोसो प्रयोग गरी बनाउँदा राम्रो हुन्छ । नत्र सकेसम्म यस्ता वस्तुहरू पनि अत्यन्त अस्वस्थकर हुन्छन् । त्यसैगरी माइक्रोवेभमा भुटेको मकै (माइक्रोवेभ पपकर्न) मा प्याकेटमा रासायनिक वस्तु जसमा परफ्लरोक्टानोइक प्रयोग गरिएको हुन्छ । जसबाट फोक्सोको क्यान्सर, पाचन नली तथा प्यानक्रियटिक क्यान्सरको प्रवल सम्भावना हुन्छ । यस्ता वस्तु उत्पादन गर्ने कम्पनीहरूले सन् २०१५ सम्ममा यस्ता रासायनिक वस्तुको प्रयोग नगर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

४. प्रशोधित मासु, हट डग तथा ससेज मासु

प्रशोधित मासुहरू जस्तै ससेज, बेकोन, पेपरोनी तथा अन्यमा कारसिनेजोनिक रासायनिक तत्वहरू सोडियम नाइट्रेट हुन्छ । जुन अत्यन्त खतरनाक क्यान्सर उत्पादन गर्ने तत्व हो । हवाई विश्वविद्यालयले यस्ता प्रशोसिधत मासु उपभोग गर्ने दुई लाख अमेरिकीहरूमा झन्डै सात वर्षसम्म गरेको अध्ययन र सर्वेबाट के पत्ता लगायो भने यीनीहरूमा ६७ प्रतिशतभन्दा बढी क्यान्सर लाग्ने खतरा देखा पर्यो । जसमा अत्यधिक प्रयोग गर्ने वा कम प्रयोग गर्ने दुबैमा यस्तो जोखिम देखाइएको छ । प्रशोधित मासु, जसलाई पोलिएको, काटेर मिलाइएको र नुनको मात्रा राखिएको हुन्छ । तिनमा रासायनिक तत्वहरू मिसाएर बिग्रने अवस्थाबाट बचाइएको हुन्छ । जसबाट कोलोन क्यान्सरको जोखिम निकै हुने गर्दछ । यस्ता हट डग, ससेज र लञ्च मासुहरू प्रायशः सडे गलेका, बिग्रन लागेका र अन्य प्रशोधित मासुका अवशेषहरू आदि तथा सुगर, बँदेलका अंगहरू, हाडका टुक्राहरू, नसा वा अंगहरू पिँधेर र पिसेर बनाइएको हुन्छ । जुन अस्वस्थ मासु हुन् । यी मासुहरू रासायनिक पदार्थबाट हुर्काइएका चौपाया, रोगी आदि प्रयोग गरिएको हुन्छ । वल्र्ड क्यान्सर रिसर्चले उपभोक्ताहरूलाई कडाईका साथ सावधान गरी यस्ता प्रशोधित मासु र परिकारहरू नखान भनिएको छ । जसमा बेकोन, ससेज, हट डग, सेन्डविच मासु, पेपरोनी, सलामी, ह्याम र सबैखाले राता मासुहरू जुन फ्रोजन हुन्छन् । र, तयारी खानाको रुपमा हुन्छन् । यदि क्यान्सरबाट बच्ने हो भने यस्ता फ्रोजन मासुहरू कदापि प्रयोग नगर्नु नै बेस हुन्छ । फ्रोजन फुड जुन फ्रिजमा राखिएको हुन्छ, त्यसमा क्लोरोफ्लोरो कार्वन रासायनिक तत्व हुन्छ । जसले प्रत्यक्ष क्यान्सर हुनेमा दुईमत छैन ।

५. बट्टाको सुप र बट्टाको गोलभेंडा

ग्रोसरी स्टोरहरूमा जताततै बट्टाको सुपहरू पाइन्छन् । तर, यो स्वस्थ छैन । जसमा उच्च बोसो, सोडियम र कृत्रिम तत्वहरू मिसाइएको हुन्छ । एउटा बट्टाको सुपमा एक हजार मिलिग्रामभन्दा बढी नुन प्रयोग गरिएको हुन्छ । जुन एक जना मानिसले एक दिनमा एकभन्दा बढी बट्टा सुप खान सक्छ । खाध्यान्न नियम र तोकिएको सीमा भनेको एक दिनमा २४ सय मिलिग्रामभन्दा बढी नुन खान मिल्दैन । यस्ता बट्टाको सुपमा नुनको मात्रा बढी हुने भएकाले मुटुको आक्रमण बढी हुने सम्भावना हुन्छ । जसका लागि आर्गेनिक रुपमा उत्पादन गरिएका तथा आर्गेनिक कम्पनीबाट उत्पादित वा घरमै बनाएर खानु बेस हुन्छ । बट्टाको गोलभेंडा सुपमा बिसफोनेल–ए जस्ता रासायनिक तत्व हुन्छन् । जसबाट शारीरिक हर्मोनमा असर पुग्छ । मिजौरी विश्वविद्यालयका अनुसार एक बट्टा गोलभेंडाको सुपमा ५० एमसीजी भन्दा बढी एसिडका कारण हर्मोन र प्रजनन प्रणालीमा असर गर्ने र बच्चाहरू सबैभन्दा बढी प्रभावित हुने खतरा हुन्छ । त्यसैले बट्टाका खानेकुरा वा सुपहरू सकेसम्म अर्गानिक हेरेर किन्ने र नत्र घरमै बनाएर खाने गर्नुपर्दछ ।

६. सालमोन, माछा र भण्डारण स्याउ

अमेरिकन स्वास्थ्य केन्द्र र अल्वानी विश्वविद्यालयका अनुसार उत्पादित सालमोन, भिटामिन डीको मात्रामा कमी मात्र होइन, यसमा उच्च मात्रामा रासायनिक तत्वहरू मिसाइएको हुन्छ । जसमा कारसिनोजिन र डीडीटी विषादी प्रयोग गरिएको हुन्छ । यस्ता सालमोन माछाहरूमा एन्टिबायोटिक उच्च मात्रामा प्रयोग गरिएको हुन्छ । त्यसैले क्यान्सरबाट बच्ने हो भने बिरलै बाहेक यस्ता पदार्थ सकेसम्म नखानु नै बेस हुन्छ । त्यसैगरी वातावरणीय कार्यदल समूहको सर्वेक्षण अनुसार औसत रुपमा स्याउ सबैभन्दा बढी विषादी प्रयोग गरिने फलफूल हो । सात सय वटा स्याउमा गरिएको परीक्षणमा ९८ प्रतिशतमा विषादी प्रयोग गरेको पाइयो । त्यस्तै अत्यधिक विषादी प्रयोग गरिने फलफूलमा अंगुर, स्ट्रबेरी, धनियाँ, आलु तथा सुन्तला पर्दछन् । यस्ता वस्तुहरूको सर्वेक्षण गर्दा ९० प्रतिशतभन्दा बढीमा विषादीको अत्यधिक अवशेष पाइयो । यस्ता विषादीबाट क्यान्सरको जोखिममा बृद्धि, बच्चाहरूको सोच्ने र स्मरण शक्तिमा ह्रास, बच्चा तथा युवामा असन्तुलित गतिविधि पाइएको छ भने प्रजनन शक्तिमा पनि ह्रास हुने देखिएको छ । त्यसैले सकेसम्म अर्गानिक फलफूल वा खाध्यान्न प्रयोग गर्नु राम्रो हुन्छ ।

७. ईनर्जी ड्रिंक्स

हिजोआज सामान्य थकान वा बिलासिताका लागि उर्जा दिने भनिएका ईनर्जी ड्रिंक्सहरूको उपभोग÷पिउने चलन बढ्दै गइरहेको छ । एक हदमा थकान र निद्रा मेट्न भए पनि यस्ता ड्रिंक्सहरू स्वास्थ्यका लागि अत्यन्त हानीकारक हुन्छन् । जसमा चिनीको मात्रा, एसिड, विविध नक्कली रंग, सोडियम, यूरिन, ग्लूकोज, कार्वोह्राइडेड, क्याफिनलगायतका रासायनिक तत्वहरूको मिसावट गरिएको हुन्छ । जसबाट मिर्गौलामा क्षति पुग्नुका साथै क्यान्सरको जोखिम पनि उच्च हुन्छ । त्यसैले सकेसम्म यस्ता ईनर्जी ड्रिंक्सहरू प्रयोग नगर्नु बेस हुन्छ । पानी पिउनु नै सबैभन्दा राम्रो हुन्छ ।
अन्त्यमा हामी कतिपय यस्ता रासायनिक एवं जंक फूडहरूको प्रयोगबाट स्वास्थ्यमा हानी हुन्छ र अस्वस्थ बनिन्छ भन्ने जान्दाजान्दै पनि प्रयोग गरिरहेका छौं । बढी समय बाँच्न र स्वस्थकर जीवन यापनका लागि हाम्रा खानपिन गतिविधि अत्यन्तै महत्वपूर्ण हुन्छ । त्यसैले आजैबाट हाम्रा अस्वस्थकर खानपान ब्यवहारमा परिवर्तन ल्याई स्वस्थ बन्ने प्रयास गरौं ।

प्रतिक्रिया