चाँदीसहित दुई जना पक्राउ

इनेप्लिज २०७१ फागुन १ गते १५:२९ मा प्रकाशित

pakraauगौशाला, १ फागुन । सशस्त्र प्रहरीले चाँदीसहित महोत्तरीको मटिहानीबाट आज साँझ एक नेपाली र एक भारतीय गरी दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको सिस्वाकटैया–२ बस्ने २४ वर्षीय रमेश साह र भारत विहार राज्यको सितामढी–८ बस्ने २८ वर्षीय व्रजकिशोर साह रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीले जनाएको छ ।

ज५प ४९५० नम्बरको मोटरसाइकलमा चढी जनकपुरबाट अवैधरुपमा एक किलो ६०४ ग्राम चाँदी बोकी भारत तस्करी गर्न लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले मटिहानी–९ स्थित बिग्ही नदीको पुलबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक धीरेन्द्र पाण्डेले बताउनुभयो ।

चाँदीसहित पक्राउ परेका नेपाली र भारतीय दुवै युवकलाई कारबाहीका लागि आजै साँझ आन्तरिक राजस्व कार्यालय पथलैया पठाइएको सशस्त्र प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया