अब अकालमा ज्यान नजाने भयो

इनेप्लिज २०७१ माघ २९ गते २:३६ मा प्रकाशित

बाजुरा, २९ माघ । समयमै सुत्केरी सेवा नपाउँदा तीन वर्षयता तोली गाविस किम्नी गाउँका दुर्गादेवी बुढालगायत तीन महिलाले अकालमै ज्यान गुमाउन परेकी थिइन् । गाउँमै २४ घन्टे प्रसूति सेवा र अन्य स्वास्थ्य सेवा नपाउँदा यो समस्या आएको हो ।

तोली स्वास्थ्य चौकीमा पुग्न मात्र तीन घन्टाभन्दा बढी समय लाग्ने भएकाले स्थानीयको सक्रियतामा गाउँमै प्रसूति सेवा केन्द्र स्थापना गरिएको तोली स्वास्थ्य चौकीका प्रमुख वीरबहादुर अयडीले बताउनुभयो ।

सरकारले २०३९ सालमा स्वास्थ्य चौकी स्थापना गरेको भए पनि ती वडाका ५०० परिवार स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका थिए ।

“सामान्य सिटामोलसमेत लिनका लागि एकदिन लगाएर स्वास्थ्य चौकी जानुपर्ने बाध्यता थियो । खोप, गर्भवती जाँचलगायतका स्थानीयले पाउनुपर्ने निःशुल्क स्वास्थ्य सेवाबाट वञ्चित भएपछि आफूहरुको पहलबाट गाउँमै २४ घन्टे प्रसूति सेवा र अन्य स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको स्थानीय गणेशबहादुर बुढाले बताउनुभयो ।”

“सेवा सञ्चालनमा आएपछि आफूहरुलाई निकै सहज भएको स्थानीय पार्वती बुढाले बताउनुभयो ।” तोली गाविसको दुर्गम गाउँमा स्थानीयकै सक्रियतमा प्रसूति सेवा केन्द्र स्थापना भएको छ । गाविसको वडा नम्बर ८ र ९ का बासिन्दाले किम्नी गाउँमा प्रसूति सेवा केन्द्रलगायतका अन्य स्वास्थ्य सेवाबाट दिने सेवा सञ्चालन गरेका छन् । प्रसूति सेवा केन्द्र स्थापना गर्न सरकारबाट अनुमति लिनुपर्ने भए पनि उनीहरुले आफ्नै पहलमा स्थापना गरेका छन् ।

स्थानीय ५०० परिवारले श्रमदान गरी करिब रु चार लाख बराबरको तीन कोठे भवन निर्माण गरेका छन् । भवन स्थानीय बासिन्दाले पाँच महिना लगाएर सम्पन्न गरेका हुन् ।

भवन निर्माणपछि प्रसूति सेवा सञ्चालन र अन्य सेवा सञ्चालनका लागि सुआहाराबाट रु १२ हजार, तोली स्वास्थ्य चौकीबाट रु १० हजार र गाविसबाट रु १० हजार गरी रु ३२ हजारबाट आवश्यक सरसामान, फर्निचर, निर्माण तथा खरिद गर्ने काम भएको स्थानीय भरतबहादुर बुढाले बताउनुभयो ।

चौकीका प्रमुख अयडीले भन्नुभयो, “स्वास्थ्य चौकी आउन निकै समस्या भएकाले आफ्नै पहलमा स्थानीयलाई भवन निर्माण गर्न लगाई २४ घन्टे प्रसूति सेवा र अन्य स्वास्थ्य सेवा बुधबारबाट सञ्चालनमा ल्याइएको हो ।” औषधिलगायत अन्य सामान स्वास्थ्य चौकीबाट त्यस ठाउँका लागि दिएको उहाँले बताउनुभयो ।

सेवा सञ्चालनका लागि स्थानीयले गाविसलाई रु एक लाख सहयोग माग गरेर गाविसले दिने भएपछि अनमी लक्ष्मी बुढालाई अस्थायी करारमा नियुक्ति गरेर काम सुरु भएको छ ।

“यसरी अब कसैले ज्यान गुमाउनु नपरोस् भन्नका लागि आफूहरु लागेर भवन निर्माण गरी सेवा सञ्चालनमा ल्याएको अगुवा महिला पार्वती बुढाले बताउनुभयो ।” एकातिर समय पनि बढी लाग्ने गरेको थियो अर्कोतिर एक घन्टा जति त भिरैभिर भएर ज्यान जोखिममा राख्दै हिँड्नु परेको थियो, अब निकै सहज हुने स्थानीयले बताए ।

जिल्लामा स्वास्थ्य संस्थामा स्थापना भएका प्रसूति सेवा केन्द्र अलपत्र भए पनि किम्नीका बासिन्दाले आफँै प्रसूति सेवा सञ्चालन गर्नुले निकै उदाहरणीय काम भएको छ ।

प्रतिक्रिया