संविधान निर्माणका लागि लोकतान्त्रिक विधि र प्रक्रिया आवश्यक: नेता नेपाल

इनेप्लिज २०७१ माघ २४ गते १६:१४ मा प्रकाशित

madhav-nepalचापागाउँ, २४ माघ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले संविधान निर्माणका लागि लोकतान्त्रिक माध्यम, विधि र प्रक्रिया नै आवश्यक भएको बताउनुभएको छ ।

अखिल नेपाल राष्ट्र्यि स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आज यहाँ आयोजना गरेको अन्तरकलेज फुटसल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले विधि र प्रक्रियाबाटै संविधान लेखनको काम अघि बढने भएकाले प्रतिपक्षीलाई पनि त्यसमा सहभागी हुन आग्रह गर्नुभयो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले नेपाली जनताको जनमतको कदर गर्दै आन्दोलनलाई स्थगित गरेर मुलुकको भविष्यका लागि संविधान लेख्नमा ध्यान दिन प्रतिपक्षी दललाई आग्रहसमेत गर्नुभयो ।

युवा देशको मूल जनशक्ति भएको चर्चा गर्दै नेता नेपालले मुलुकको विकास र उन्नतिमा युवाको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । प्रतियोगितामा २४ कलेज सहभागी छन् ।

शारीरिक तथा मानसिक स्वास्थ्यका लागि पौडी र नृत्य

यसैबीच, राजधानीकै एक अर्को कार्यक्रममा नेता नेपालले राष्ट्रको प्रतिष्ठा बढाउन खेलकुदले महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभएको छ ।

शनिबार राजधानीको गैरीगाउँस्थित सिनामङ्गल क्योकुसिन कराते उप–डोजो र ल्यान्डमार्क फाउन्डेसनद्वारा संयुक्तरुपमा आयोजित चौथो विद्यालयस्तरीय पुरुष तथा महिला तौल समूह फूल कन्ट्याक कराते प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै नेता नेपालले नेपालमा विस्तारै खेलकुद लोकप्रिय बन्दै गएको बताउँदै भन्नुभयो, “मानिस एउटा क्षेत्रबाट मात्र होइन, जुनसुकै क्षेत्रबाट पनि उत्कृष्ट बन्न सक्छन्, अहिले खेलकुद पनि लोकप्रिय भइरहेको छ, यो नै विकासको लक्षण हो ।”

उहाँले अविभावकले आफ्ना छोराछोरीलाई पढाइका अलावा खेलकुद र अन्य अतिरिक्त क्रियाकलापमा पनि लगाउनुपर्ने बताउँदै भन्न्ुभयो, “शारीरिक तथा मानसिक स्वास्थ्यका लागि बच्चालाई पौडी र नृत्य सिकाउनैपर्छ ।”

सो अवसरमा नेता नेपालले सिनामङ्गल उप–डोजोलाई खेलकुद सामग्री हस्तान्तरण गर्नुकासाथै खेल क्षेत्रका व्यक्तित्वलाई कदरपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयस्तरीय प्रतिस्पर्धात्मक क्योकुसिन कराते खेलका अतिरिक्त खेलाडीले विभिन्न स्टन्ट देखाएका थिए भने बालबालिकाले सांस्किृतिक प्रस्तुति पनि देखाएका थिए ।

प्रतिक्रिया