कुपोषणका कारण सात बालबालिकाको ज्यान गुम्यो

इनेप्लिज २०७१ माघ २२ गते १:५६ मा प्रकाशित

kuposanतौलिहवा (कपिलवस्तु), २२ माघ । अति कुपोषित बालबालिकाको सूचीमा रहेको कपिलवस्तुमा कुपोषणकै कारणबाट सात बालबालिकाले अकालमै ज्यान गुमाएका छन् ।

गम्भीर कुपोषणको सिकार भएका उनीहरुको पहिचानपछि उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । अज्ञानता र चेतना अभावका कारण बीचैमा उपचार छाडेर सम्पर्कमा नआएपछि ती बालबालिकाको मृत्युभएको स्वास्थ्य कार्यालयका पोषण कार्यक्रमका स्रोत व्यक्ति विष्णु पौडेलले जानकारी दिनुभयो । “ती बालबालिकाको पहिचान गरी स्वास्थ्य संस्थाको निगरानीमा उपचार गराइराखेको पौडेलले बताउनुभयो ।

अभिभावकले घरमा लगेका बालबालिकालाई पछि उपचार नै गराउन नल्याएपछि उनीहरुले ज्यान गुमाउनु परेको उहाँको भनाइ छ । जिल्लामा भेटिएका नौ हजार ३५ जना कुपोषित बालबालिकामध्ये उनीहरुको मृत्यु भएको हो । पाँच महिनादेखि ५९ महिनासम्मका ६० हजार २३७ बालबालिकामध्ये त्यति बालबालिका कुपोषित भएको पाइएको हो ।

कुषोषितमध्ये ४० प्रतिशत पुड्के, १५ दशमलव २ प्रतिशत ख्याउटे र बाँकी कम तौलका भेटिएका हुन् । स्वास्थ्य सेवा विभागले जिल्लामा १५ दशमलव २ प्रतिशत बालबालिकामा कुपोषित रहेको तथ्याङ्कले देखाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाभर गरेको अध्ययनअनुसार कुपोषित बालबालिकामध्ये दुई हजार ४०० को उपचार गरिएको थियो । यस्तै भिटामिन ए अभियान कार्यक्रममा स्क्रिनिङ गर्दा ४५३ बालबालिका थप कुपोषित बालबालिका भेटिएका थिए ।

यसैगरी जिल्लाका पाँच गाविसमा कुपोषणसम्बन्धी सुक्ष्म अध्ययन गर्दा तीन हजार ७७९ बालबालिकामध्ये ११८ जना कुपोषित देखिएको थियो । ती गाविसमा गाउँकै महिला स्वयम्सेविका घरदैलोमा पुगेर जाँच गरेका थिए । सिहोखोरमा ६६३ मध्ये छ जनामा, हरिहरपुरमा ७४५ मध्ये २२, भगवानपुरमा ६९३ मध्ये ३८, बासखोरमा एक हजार २२० मध्ये ४२ तथा उदयपुरमा ४५८ मध्ये १० जना कुपोषित बालबालिका भेटिएको स्रोत व्यक्ति पौडेलले जानकारी दिनुभयो ।

यस्तै जिल्लाका गर्भवती महिलामा रक्तअल्पताका बिरामीसमेत अधिक भेटिएका उहाँले बताउनुभयो । सन्तुलित आहारको कमी र सरसफाइको कमीका कारण जिल्लामा कुपोषण गम्भीर समस्याका रुपमा देखिएको उहाँको भनाइ छ । “जिल्लाका ग्रामीण भेगमा अझै नुन र भात मात्र खाने चलनले गर्दा कुपोषणको समस्या देखिएको उहाँले बताउनुभयो ।

खाद्य व्यवहारमा सुधार नगरी जिल्लामा कुपोषणको समस्यालाई हटाउन सकिँदैन ।” जिविसका सूचना अधिकृत राजन पोख्रेल खान नपाएर नभई खाने तरिका नजानेर जिल्लामा कुपोषणको समस्या देखिएको बताउनुहुन्छ । “अपार अन्न भण्डारका रुपमा परिचित जिल्ला अति कुपोषितको सूचीमा पर्नु लज्जाको विषय भएको हो उहाँले बताउनुभयो ।” कुपोषणका विरुद्ध बृहत्रुपमा सचेतना कार्यक्रमसमेत सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।

जिल्लामा कुपोषण गम्भीर समस्याका रुपमा देखा परेपछि त्यसको सुधारका लागि एकीकृत पोषण कार्यक्रम सञ्चालन गरिएको छ । सरकारी र गैरसरकारी निकायले एकीकृतरुपमा कुपोषणका विरुद्धको अभियानका लागि बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालित छ । स्वास्थ्य, जिविस, शिक्षा, खानेपानी सवडिभिजन कार्यालय, चार गैरसरकारी कार्यालयलगायत निकायले बहुपोषणका विषयमा कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

यस्तै समुदायमा आधारित कुपोषण व्यवस्थापन, शिशु तथा बाल्यकालीन पोषण कार्यक्रम, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम चलाइएको छ । यस्तै गर्भपतन र २२ दिनको सुत्केरीलाई आइरन चक्की, पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ए, नियमित तौल अनुगमनलगायतका कार्यक्रम नियमितरुपमा सञ्चालत गरिरहेको छ ।

यस्तै गम्भीर कुपोषण भएका बालबालिकालाई जिल्लाका २३ स्वास्थ्य संस्थामा उपचारको व्यवस्था मिलाइएको युनिसेफ कुपोषण कार्यक्रमका अधिकृत आनन्द लाभले जानकारी दिनुभयो ।

ती संस्थामा गम्भीररुपमा कुपोषित बालबालिकालाई उपचारको सुविधासहित आरयुटिएफ नामक तयारी खानाको प्रबन्ध गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया