एडिबीका अध्यक्ष नाकाओ नयाँदिल्ली प्रस्थान

इनेप्लिज २०७१ माघ २१ गते १४:३० मा प्रकाशित

nadayaकाठमाडौँ, २१ माघ । एसियाली विकास बैंक (एडिबी)का अध्यक्ष ताकेहिको नाकाओ नेपालको तीनदिने औपचारिक भ्रमणमा पूरा गरी आज भारतको राजधानी नयाँदिल्लीतर्फ प्रस्थान गर्नुभयो ।

एडिबीले नेपालमा आवासीय कार्यालय स्थापना गरेर यहाँको सामाजिक–आर्थिक विकासमा सघाउन थालेको २५औँ वार्षिकोत्सवको अवसर पारेर अध्यक्ष नाकाओको नेपाल भ्रमणमा आउनुभएको थियो ।

प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री डा रामशरण महत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा गोविन्द पोखरेल, नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडा तथा नेपाल सरकारका वरिष्ठ अधिकारीसँग अध्यक्ष नाकाओले बेग्लाबेग्लै भेटेर नेपालको वर्तमान आर्थिक एवम् विकासको अवस्था र नेपाल सरकारको विकास कार्यसूचीमा एडिबीको सम्भावित सहयोगबारे विचारविमर्श गर्नुभएको थियो ।

मन्त्रिपरिषद्का सदस्य, नीति निर्माता, नेपालको विकासका साझेदार, नेपाल सरकारका वरिष्ठ अधिकारी, उद्योगपति, व्यापारी तथा सञ्चारकर्मीको उपस्थितिमा मङ्गलबार साँझ एडिबी नेपाल कार्यालयको रजत महोत्सव समारोहमा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उहाँले नेपाललाई मध्यमस्तरको आययुक्त मुलुकमा परिणत गर्न भौतिकपूर्वाधार र मानव संसाधन विकासमा ठूलो लगानीको आवश्यकता पर्ने बताउँदै त्यसमा एडिबीले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

भ्रमणका क्रममा उहाँले एडिबीको सहयोगमा विस्तार हुनलागेको भैरहवास्थित अन्तर्राष्ट्रियस्तरको गौतमबुद्ध क्षेत्रीय विमानस्थलको स्थलगल निरीक्षण गर्नुका साथै शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको पनि भ्रमण गर्नुभएको थियो ।

अध्यक्ष नाकाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यहाँस्थित एडिबीका देशीय निर्देशक केनिची योकोयामा, अर्थ मन्त्रालय र एडिबी नेपाल कार्यालयका वरिष्ठ अधिकारीले बिदाइ गर्नुभयो । रासस

प्रतिक्रिया