मुक्त कमैया महिला व्यवसायी बन्दै

इनेप्लिज २०७१ माघ १८ गते ११:२९ मा प्रकाशित

Kamalari-in-Kailaliभीमदत्तनगर, १८ माघ । कञ्चनपुरको दैजी गाविस–३ धरमपुरकी सुनिता चौधरीले गत वर्ष असोजदेखि च्याउ उत्पादनमा समय खर्चिंदै आएकी छिन् । थोरै लगानी तथा कम मेहनतले राम्रो आयआर्जन गर्न सकिने देखेपछि चौधरी च्याउखेतीमा समर्पित भएकी हुन् । यसअघि उहाँको पूरै समय छोराछोरीको रेखदेख र चुलोचौकोमै बित्थ्यो ।

मुक्त कमैया शिविरकै दयादेवी डगौँराले गएको महिना ३५ किलोभन्दा बढी च्याउ बिक्री गरिसकेकी छन् । उहाँ अब च्याउखेतीलाई विस्तार गर्न योजना बुन्दैछिन् । दयालाई उहाँका श्रीमान्ले समेत च्याउखेती गर्न साथ दिएका छन् । “बुढाबुढी नै च्याउ उत्पादनमा समय खर्चिंदै छौँ,” दयादेवीले भनिन्, “बुहारीलाई भान्सा र अन्य खेतीपातीको काम सुम्पेकी छु ।” च्याउखेतीबाट परिवारको खर्च चलाउन सहज भएको उनले बताइन् ।

मुक्तकमैया शिविरका बासिन्दाले च्याउखेतीलाई निरन्तरता दिने सोच बनाएका छन् । पछिल्लो समय उनीहरु च्याउखेतीतर्फ आकर्षित भएका छन् । कम लगानी र थोरै मेहनतबाट च्याउखेतीबाट सोचेभन्दा राम्रो आम्दानी भएपछि मुक्त कमैया परिवार हर्षित छन् । “रु दुई हजार लगानीमा च्याउखेती थालेकी हुँ,” सुनिता चौधरीले भनिन् – “दश हजारको बिक्री गरें, अझै बिक्री हुन बाँकी छ ।” च्याउखेतीकै कमाईले छोराछोरीको पढाइ शुल्क तिर्न सकेको उनले बताइन् ।

विसं २०५८ मा सरकारले कमैयालाई मुक्त गरेको हो । उनीहरुलाई पाँच–पाँच कट्ठा जग्गा उपलब्ध गराएको थियो । तर सिँचाइ अभावले उत्पादन नभएपछि खान लाउन मुक्त कमैया परिवारलाई धौधौ पर्ने गरेको छ । पछिल्लो केही वर्षयता कञ्चनपुरमा रहेका विभिन्न मुक्त कमैया शिविरका महिला च्याउखेती, तरकारीखेती, बङ्गुरपालन, कुखुरापालन, माछापालन, बाख्रापालनलगायतका व्यवसायबाट आर्थिक अवस्थामा सुधार ल्याउन सक्रिय भएको जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरले जनाएको छ ।

“कृषिबाट पनि मुक्त कमैया र विपन्न समुदायका लागि समय–समयमा विभिन्न प्रकारका बिरुवा वितरण भएका छन् ।” जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले भन्नुभयो – “गाउँघरमा मुक्त कमैया महिला पछिल्लो समय व्यवसायमा अग्रसर हुँदैछन् ।”

त्यसैगरी सरकारले गरिबी निवारण कोषमार्फत पनि मुक्त कमैयाहरुलाई लक्ष्य गरी विभिन्न व्यवसायमा उनीहरुलाई आकर्षित गर्दै आएको छ । शिविरमा विभिन्न समूह बनाएर उनीहरुलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराएर तरकारी, च्याउखेतीलगायतका विभिन्न नगदेबालीमा पनि आकर्षित गरिरहेको कृषि विकास कार्यालयका प्रमुख थापाको भनाइ थियो ।

उहाँले कञ्चनपुरमा गरिबी निवारण कोषले गरिबी निवारण कार्यक्रमअन्तर्गत विभिन्न सङ्घसंस्थामार्फत मुक्त कमैया बस्तीमा लगानी गरिरहेको जानकारीसमेत दिनुभयो । त्यसैगरी, पशुसेवा कार्यालयमार्फत पनि उनीहरुलाई पशुपालन गरी आयआर्जन गर्नतर्फ आकर्षित गरिरहेको कार्यालयले जनाएको छ ।

पछिल्लो समय कृष्णपुर, दैजीलगायतका विभिन्न गाविसमा छरिएर रहेका महिला तरकारी उत्पादन गरी गाउँ–गाउँमा पुगेर बिक्री गरिरहेका छन् । “तरकारीखेतीले घर खर्च चलेको छ ।” वाणि मुक्त कमैया शिविरका मायादेवी खुनाले भन्नुभयो – “गाउँमा समूह बनाएरै महिलाहरु तरकारीखेती गर्ने गृहकार्यमा जुटेका छन् ।” कञ्चनपुरमा चार हजार ५०० परिवार मुक्त कमैया छन् । केही मुक्त कमैयाले नदीका बगरमा पनि तरकारीखेती गर्ने गरेका छन् ।

“शिविरमै पुगेर लगानी गरिदिएपछि मुक्त कमैयाहरुको आर्थिक स्थितिमा पनि सुधार आइरहेको छ” – गरिबी निवारण कार्यक्रमका संयोजक टेकबहादुर बुढाले भन्नुभयो – “मुक्त कमैया महिला व्यवसायमा कस्सिएरै लागेका छन् ।”

प्रतिक्रिया