लुटपाटमा सम्लग्न पक्राउ

इनेप्लिज २०७१ माघ १८ गते १०:०१ मा प्रकाशित

caught_20140720084523ताप्लेजुङ, माघ १८ । दुई साता अघि हाटबजार आउँदै गरेका महिलाहरुलाई लुटपाट गर्ने लुटेराको समूहलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित तोक्मेडाँडामा लाग्ने हाटबजार आउँदै गरेका जिल्लाको ढुङ्गेसाँघुका महिलाहरु माथि लुटपाट मच्चाउने लुटेराको समूहलाई पक्राउ पछि प्रहरीले सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा ताप्लेजुङ नगरपालिका १ बस्ने २० वर्षीय मनकुमार मादेन, २० वर्षीय सुकुना भनिने हेम मादेन र २५ वर्षीय च्याङ्बा कान्छा भनिने नवीन तामाङ रहेका छन् । उक्त लुटपाटमा पाँच जनाको समूह सङ्लग्न रहेकामा अन्य दुई जना पाँचथर अमरपुरका हरि लिम्बू र विशाल लिम्बू भने अझै फरार रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अभियुक्त मध्ये हेम र मनकुमार मादेन घटना घटाएको एक सातापछि विशेष सुराकको आधारमा गाउँघरबाटै पक्राउ परेका र नवीन तामाङलाई खोजतलासका क्रममा शनिबार पक्राउ गरिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । उनीहरुको साथबाट लुटिएको नगद मध्ये एक हजार भारतीय रुपैयाँ र ६० नेपाली रुपैयाँ, करिव आधा तोला जतिको कानमा लगाउने सुनका गहाना, छ थान मोबाइल सेट र एक थान कुखुरी बरामत गरिएको प्रनाउ कोइरालाले बताए ।
पक्राउ परेकाहरुलाई चोरीअन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रनाउ कोइरालाले जानकारी दिए । उनीहरुलाई कानुन अनुसार छ वर्ष कैद र विगोभन्दा आधा बढी अर्थात ( डेढ गुणा बढी) जरिवाना हुनसक्ने उहाँले बताए । बाँकी फरार रहेकाको खोजी कार्य भइरहेको पनि उनले बताए ।
उक्त लुटेराको समूहले दुई साताअघि अर्थात गत माघ ३ गते तोक्मेडाँडामा लाग्ने शनिबारे हाट आउँदै गरेका ढुङ्गेसाँघु १ बस्ने हर्कवती लिम्बु, टीका लिम्बु, नवीना लिम्बु, सीता लिम्बु, मनमति लिम्बु, पार्वता लिम्बु, सरिता लिम्बु, हेमा लिम्बु, रीता लिम्बु, गङ्गा लिम्बु लगायत ११ जना महिला माथि लुटपाट मच्चाएका थिए । उक्त दिन बिहान करिव साढे तीन बजेतिर हाट बजारमा घरेलु उत्पादनको मर्चा बेच्न र आपूmलाई चाहिने सामान किनमेल गर्न आउँदै गरेका महिलाहरुमाथि ताप्लेजुङ नगरपालिका १ को सित्तलेमा लुटपाट भएको थियो ।

यसैबीच नवीन तामाङ यसअघिका फरार अभियुक्त समेत रहेका प्रहरीले जनाएको छ । तामाङले प्रयोग गर्ने गरेको अवैध कटुवा पेस्तोल गएको असोज २४ गते खाम्लुङ १ दोभानका मानबहादुर चोङ्बाङको घरमा बरामत भएको र उनी विरुद्ध हात हतियार खरखजनाको मुद्दा लागेको थियो ।
यस्तै अर्का हेम मादेन पनि २०६६ साउनमा आफ्नै बाजे ७५ वर्षीय हर्कबहादुर मादेनको हत्या गरी उमेर हदका कारण नाबालक ठहरिएकाले १५ हजार रुपियाँ घरौटी बुझाई तारेखमा रहेका अभियुक्त भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया