वादी समुदाय सार्वजनिक धाराको पानी प्रयोग गर्न वञ्चित

इनेप्लिज २०७१ माघ १८ गते १:५१ मा प्रकाशित

badiसल्यान, १८ माघ । शारदा नगरपालिका–१ शान्तिनगरका २९ घरपरिवारका वादी समुदाय शारदा खोलाको पानी खान बाध्य भएका छन् ।

उनीहरुलाई माथिल्लो जातिले धाराको खानेपानी प्रयोग गर्न वञ्चित गरेका छन् ।  शान्तिनगरमा रहेका अन्य जातिले आफूहरुलाई धाराको पानी खान रोक लगाएको सिर्जना वादीले बताउनुभयो ।  उहाँले भन्नुभयो–“छिमेकीको धारामा पानी भर्न गएका थियौँ, तर उनीहरुले जातीय छुवाछूतका आधारमा खानेपानी भर्न दिएनन् ।”

नजिकै रहेको श्रीनगरबजारबाट आएको फोहोर शारदा खोलामा मिसिने गर्छ । फोहर पानी पिउँदा विभिन्न स्वास्थ्य समस्या देखापर्ने गरेको उनीहरुको भनाइ छ । “विभिन्न निकायमा खानेपानीका लागि बारम्बार माग गर्दै आएका छौँ तर कतैबाट सुनुवाइ भएको छैन”–सीता वादीले भन्नुभयो–“खोलाको पानी फोहर हुन्छ, खान हुँदैन भन्ने थाहा छ तर बाध्य भएर खानुपरेको छ, धारा सार्वजनिक भए पनि निजीजस्तो वनाइएको छ ।”

जिविसको लक्षित वर्गअन्तर्गतको बजेटअन्तर्गत रु ५० हजारको लागतमा खानेपानी इनार निर्माण भए पनि यस वर्ष आएको बाढीले बगाएर लिएपछि झनै समस्या भएको छ । सरकारले जातीय भेदवभाव गरेमा कारबाही गर्ने भन्दै आए पनि भेदभाव हट्न सकेको छैन ।  खानेपानीका कारण पटक पटक झगडासमेत हुने गरेको सम्झना वादीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“धारामा पानी लिन जाँदा छोइछिटो गर्दा वादविवाद हुने गरेको छ ।”

यस्तै वादी समुदायका महिला खानेपानी मात्र नभई विभिन्न किसिमका भेदभावमा परेका छन् । सामुदायिक वनबाट समेत दाउरा नपाएको उनीहरुले बताएका छन् । बीस वर्षदेखि आफूहरु शान्तिनगरमा रहेको ऐलानी जग्गामा बस्दै आए पनि सामुदायिक वनबाट दाउरा नपाएको गुनासो तिनको छ  । पहिले आफूहरुबाट वनशुल्क भनेर सामुदायिक वन समितिले मासिक रु ५० लिए पनि अहिले भने सदस्यताका लागि रु सात हजार रकम माग गरेकाले आफूहरु सो रकम तिर्न नसकेको निर्मला वादीले बताउनुभयो । उहाँले भन्नुभयो–“हाम्रो न जग्गा छ, न आयआर्जनको कुनै माध्यम छ, हामीले कसरी महँगो शुल्क तिर्न सक्छौँ ?”

प्रतिक्रिया