पर्सामा प्रहरी र स्थानीय जनताबीच झडप, १० घाइते

इनेप्लिज २०७१ माघ १४ गते १६:०० मा प्रकाशित

Parsa_district_locationवीरगन्ज, १४ माघ । पर्साको हरपुर गाविस–८ बडेरवामा आज साँझ प्रहरी र स्थानीय जनताबीच भएको झडपमा प्रहरी र स्थानीय गरी १० जना घाइते भएका छन् ।

दुर्लभ वन्यजन्तु पाटे बाघ, गैँडाको खाग, हड्डीको अवैध कारोबारमा संलग्न भएको आरोपमा हरपुर–८ निवासी सरजुग चौधरीलाई प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष अनुसन्धान ब्युरो सिआइबीको टोलीले पक्राउ गर्न खोज्दा स्थानीयवासीले अवरोध पुर्‍याएपछि झडप भएको हो ।

सिआइबीको टोलीमाथि स्थानीय जनताले ढुङ्गामुढा गरेर स्थिति तनावपूर्ण बनाएपछि त्यसलाई नियन्त्रण गर्न बाध्य भएर प्रहरीले ५० राउन्डभन्दा बढी हवाई फायर तथा अश्रु ग्यास प्रहार गरेको पर्साका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले बताउनुभयो ।

झडपमा घाइते भएकाहरुको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । घाइते हुनेमा हरपुर–८ का स्थानीयवासी दिपनी देवी, दुखनी देवी, इन्द्रा देवी छन् । घाइतेमध्ये दिपनी देवीको दुवै खुट्टामा तथा दुखनी देवीको देव्रे खुटामा र इन्द्रा देवीको ढाडमा गोली लागेकोे उहाँहरुको उपचारमा संलग्न अस्पतालका चिकित्सक डा अशोक कुशवाहले बताउनुभयो ।

गोली लागेर चिन्ताजनक अवस्थामा रहेका दिपनी देवीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । गोली लागेर घाइते भएका दुखनी देवी र इन्द्रा देवीको अवस्था चिन्तामुक्त रहेको अस्पतालले जनाएको छ ।

स्थानीय जनताको ढुङ्गामुढाबाट घाइते भएका प्रहरी सहायक निरीक्षक रामस्वरुप यादवको समेत नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

आरोपित चौधरीलाई पक्राउ गरिएपछि अहिले हरपुरको सुरक्षा स्थिति सामान्य बनेको छ । सिआइबीका प्रहरी निरीक्षक भोला भट्टको नेतृत्वमा खटिएको टोली, जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट समेत खटिएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएका थिए ।

आरोपित चौधरीलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखी थप अनुसन्धान अघि बढाइएको जिप्रका पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताउनुभयो ।

प्रतिक्रिया