मावुमा तीन वटा रेडपाण्डा फेला परे

इनेप्लिज २०७१ माघ १४ गते २:१७ मा प्रकाशित

red-pandaइलाम, १४ माघ । विश्वमै लोपोन्मुख सूचीमा रहेको रातोपाण्डा भनेर चिनिने रेडपाण्डा (हाब्रे) इलामको मावुमा देखापरेको छ ।

रेडपाण्डा नेटवर्क नेपालले मावुको कालपोखरीस्थित दोबाटे वनमा बच्चासहित तीन वटा रेडपाण्डा भेटाएको जानकारी दिएको छ ।

“बच्चासँगै चर्न निस्केको बेला रेडपाण्डा भेटाएका हौँ”, नेटवर्क इलामका फिल्ड संयोजक फिन्जु शेर्पाले भन्नुभयो “संरक्षणका लागि काम गरिरहेका छौँ ।”

विश्वबाटै दुर्लभ मानिएको रेडपाण्डा इलामका विभिन्न सामुदायिक वनमा पाइन्छ । पाण्डाको मुख्य आहार भालुचिण्डे, मालिङ्गोको पात मासिँदै जानुले रेडपाण्डा सङ्कटमा पर्दै गएको शेर्पाले बताउनुभयो ।

नेटवर्कले अहिले इलाम जिल्लाको सातवटा गाविसमा र ताप्लेजुङमा १४ र पाँचथरमा पाँच गाविसमा संरक्षणको काम गरिरहेको जनाएको छ ।

हेर्दा लजालु स्वभावको रेडपाण्डा इलामको जोगमाई, प्याङ, जमुना, मावु, माईमझुवाका सामुदायिक तथा सरकारी वनमा पाइन्छ । इलाममा करिब ३० वटा रेडपाण्डा रहेको संयोजक शेर्पाले बताउनुभयो ।

प्रतिक्रिया