भन्सार प्रशासनको आधुनिकीरणमा अर्थमन्त्रीको जोड

इनेप्लिज २०७१ माघ १२ गते १६:१६ मा प्रकाशित

ramsaran-mahatकाठमाडौँ, १२ माघ । अर्थमन्त्री डा रामशरण महतले अन्तर्राष्ट्रिय व्यापारको स्वरुपमा आएको परिवर्तनअनुसार नै भन्सार प्रशासनलाई आधुनिकीरण गर्दै लैजानुपर्नेमा जोड दिनुभएको छ ।

त्रिसठ्ठिऔं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले देशको आर्थिक अवस्थालाई माथि उठाउँदै व्यापारलाई सरल र सहज बनाउन निर्देशन दिनुभयो ।

अर्थमन्त्री डा मतहले भन्नुभयो, “२१औँ अताब्दीअनुसार नेपालको भन्सार तथा अध्यागनलाई आधुनिकीकरण गर्दै कप्युटरीकृत गर्दै लैजानुपर्छ र भन्सार प्रशासनको क्षमता विस्तार गर्न मन्त्रालयले पूर्ण सहयोग गर्छ ।”

विद्यमान अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता तथा भन्सारलाई परिवर्तन गर्न सकेमा पर्यटक आगमनमा सुधार आउने र अर्थतन्त्रलाई विस्तार गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा उहाँको जोड थियो ।

गत वर्षको तुलनामा पूँजीगत खर्चमा ५० प्रतिशतले सुधार आएको भएपनि त्यो पर्याप्त नभएको उल्लेख गर्दै अर्थमन्त्री डा महतले प्रशासन संयन्त्रलाई सबल र सक्षम बनाएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

विभागका पूर्व महानिर्देशक एवम् राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले राजस्व संयन्त्रलाई सक्षम बनाउन ‘राजस्व बोर्ड’को गठन गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्सार प्रशासनको विश्वसनियताको साख जोगाउनुपर्नेमा जोड दिनुभयो ।

अर्थ मन्त्रालयका निमित्त सचिव राजन खनालले पछिल्लो समयमा सीमा व्यवस्थापनलाई अन्तर्राष्ट्रिय क्षेत्रबाटै चासो व्यक्त गरेकाले अन्तर्राष्ट्रिय व्यापारलाई प्रवद्र्धन गर्न भन्सार प्रशासनलाई सोहीअनुसार व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

महालेखा नियन्त्रक शङ्करप्रसाद अधिकारीले भन्सार तथा सीमा व्यवस्थापनलाई सरल सहज बनाउने अवस्थामा मात्र अन्तर्राष्ट्रिय व्यापार सहज हुने भएकाले व्यापारिक क्षमता बढाउन त्यसतर्फ राज्यको ध्यान जानुपर्ने धारणा राख्नुभयो ।

भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गानाले आयात  तथा निर्यातलाई सहज बनाउन विभागले स्वचालित प्रणालीलाई तीव्रताका साथ लागू गर्ने बताउँदै जोखिममा आधारित जाँचपासलाई प्रयोगमा ल्याइने जानकारी दिनुभयो ।

उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डेले भन्सार सुधार रणनीतिलाई सबै भन्सार कार्यालयमा लागू गरी भन्सारसम्बन्धी कानुनलाई थप सुधार गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सबै भन्सार कार्यालयलाई एकीकृत भन्सार प्रणालीअनुसार सञ्चालन गरी अन्तर्राष्ट्रिय बजारलाई सहजीकरण गनुपर्ने बताउनुभयो ।

कार्यक्रममा भन्सार विभागका पूर्व महानिर्देशकद्वय बाँस्कोटा र बोधराज निरौला तथा विभागका उत्कृष्ठ कर्मचारी रामकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया