सहमति र प्रक्रियाको नयाँ यात्रा थालौँः नेपाल

इनेप्लिज २०७१ माघ ८ गते ७:०१ मा प्रकाशित

madhav-nepalकाठमाडौँ, ८ माघ । नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधानसभामा उत्पन्न गतिरोध हटाउन सहमति र प्रक्रियाको नयाँ यात्रा एकैसाथ प्रारम्भ गर्नुपर्ने बताउनुभएको छ ।

रिपोटर्स क्लब नेपालले आज उहाँको निवास कोटेश्वरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता नेपालले नयाँ शिराबाट सहमति र संविधान निर्माणको प्रक्रिया प्रारम्भ गर्नुपर्ने धारणा राख्दै एमाओवादीले माघ ८ भित्र संविधान ल्याउन नदिने योजना बनाएकाले आफूहरुको प्रयासका बीच आज संविधान निर्माणमा उपलब्धि हुन नसकेको उल्लेख गर्नु भयो ।

नेता नेपालले भन्नुभयो, “केही बितिसकेको छैन, विपक्षी दल एककदम अगाडि बढ्न तयार भएमा विश्वासको नयाँ वातावरण बनाएर संविधान निर्माणमा थप प्रतिबद्ध भएर सबै लाग्नुपर्छ ।”

नेता नेपालले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले पटक–पटक समय थप गर्दा पनि सहमति जुटाउन नसकेकाले अब उहाँ सभापति पदमा रहन लायक नभएको बताउनुभयो ।

उहाँले यी माघ ५ गते राति एमाओवादी र मधेसवादी दलका सभासद्ले संविधानसभाका देखाएको उच्छृङ्खल गतिविधि अलोकतान्त्रिक र उदण्ड भएको टिप्पणी गर्दै त्यस्तो व्यवहारबाट आफूलाई सच्याउन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया