बेहोस गर्ने चिकित्सक नहुँदा पाठेघर रोगीका निःशुल्क शल्यक्रिया सेवा निष्प्रभावी

इनेप्लिज २०७१ माघ ८ गते १:५२ मा प्रकाशित

mechi-hospitalकाँकडभिट्टा (झापा), ८ माघ । मेची अञ्चल अस्पताल भद्रपुरमा सरकारले पाठेघर (आङ खस्ने) रोगीका लागि ल्याएको निःशुल्क शल्यक्रिया सेवा  निष्प्रभावी बनेको छ ।

सेवा निष्प्रभावी बनेपछि सर्वसाधारण मारमा परेका छन् भने महँगो खर्चमा निजी अस्पतालमा गएर उपचार गराउन बाध्य छन् ।

पाठेघरसम्बन्धी रोगीको शल्यक्रिया गर्नुपर्ने अवस्था बने तत्कालै सिफारिस गर्नुपर्ने अवस्था मेची अञ्चल अस्पतालको छ । सरकारले स्वास्थ्यकेन्द्रमा यसको निःशुल्क शल्यक्रिया तथा औषधिको व्यवस्था गरेको छ । शल्यक्रिया गरेका  बिरामीका कुरुवालाई समेत निःशुल्क खानपिनको व्यवस्था गरिएको छ ।

तर अस्पतालमा बेहोस गर्ने  (एनेस्थेसिया) चिकित्सक नहुँदा यो सेवा दुई वर्षअघिदेखि निष्प्रभावी बनेको हो । अस्पतालले यो सेवा दिन नसक्दा सरकारले यसका लागि विनियोजन गरेको बजेटसमेत हरेक वर्ष फ्रिज हुने गरेको अस्पतालले जनाएको छ ।

सरकारले वार्षिकरूपमा सरकारी अस्पतालमा २०० को शल्यक्रिया गर्नका लागि रु ४० लाख बजेट विनियोजन गरेको अस्पतालले जनाएको छ । अस्पताल स्रोतका अनुसार गत आर्थिक वर्ष ०७०÷७१ मा आएको रु ४० लाख बेहोस गर्ने चिकित्सक नभएकै कारण फ्रिज भएको थियो ।

चालु आवका लागि समेत सरकारले यति नै रकम विनियोजन गरेको छ । आर्थिक वर्षको छ महिना बितिसक्दा बेहोस गर्ने चिकित्सक नभएकै कारण एउटा पनि शल्यक्रिया गर्न सकिएको छैन ।

“सेवा लिन पाठेघरका रोगीहरू अस्पतालमा आउने गरेका छन्” जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख चन्द्रदेव मेहताले भन्नुभयो, “तर बेहोस गर्ने चिकित्सक नभएकै कारण अन्यत्र सिफारिस  गर्नुपर्छ ।”

निजी अस्पतालमा यसको शल्यक्रिया गर्नुपर्दा रु ४० देखि ६० हजार लाग्ने चिकित्सक बताउँछन् । जनस्वास्थ्य कार्यालयले यस बारेमा पटकपटक सम्बन्धित निकायमा जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएको जनाएको छ ।

“हामीले स्वास्थ्य मन्त्रालय, परिवार स्वास्थ्य महाशाखा क्षेत्रीय स्वास्थ्य निर्देशनालयलाई पटकपटक जानकारी गराएका छौँ” प्रमुख मेहताले भन्नुभयो “अहिलेसम्म चिकित्सक नभएकै कारण यो सेवा प्रदान गर्न नसकिएको र अन्यत्र सिफारिस गर्नुको विकल्प छैन । बेहोस गर्ने चिकित्सक नभएपछि मेची अञ्चल अस्पतालले रिङ पेसरी लगाएर पठाउने गरिएको चिकित्सक बताउँछन् । यो प्रयोग गरेपछि तल्लो पेटको दुखाइ कम हुने र हिँडडुल गर्न केही सहज हुने चिकित्सकको भनाइ छ । तर पेसरी तीन तीन महिनामा फेरिरहनुपर्ने चिकित्सक बताउँछन् ।

सरकारले पाठेघर खस्ने महिलालाई लक्षित गरी  कार्यक्रम ल्याए पनि चिकित्सक नहुँदा सेवाग्राही समस्यामा परेको मेची अञ्चल अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक पीताम्बर ठाकुरको भनाइ छ । उहाँको अनुसार तराईका जिल्लाभन्दा पूर्वी पहाडी जिल्लाका अधिकांश महिला यसबाट पीडित बन्ने गरेका छन् ।

प्रतिक्रिया