चेपाङलाई कपडा सहयोग

इनेप्लिज २०७१ माघ ५ गते ६:४२ मा प्रकाशित

chepangगजुरी (धादिङ), ५ माघ । चिसो बढेसँगै कष्टकर ढङ्गबाट जीवन गुजार्दै आएका दक्षिणी धादिङको जोगिमाराका चेपाङ समुदायलाई न्यानो कपडा सहयोग गरिएको छ ।

नवीनतम नेपालको समाज नामक गैरसरकारी सस्थाको सहयोगमा जोगिमारा र धुसाका ८१ घरपरिवार चेपाङलाई सिरक, कम्मललगायत लगाउने कपडा सहयोग गरिएको हो । सञ्चारकर्मी र कलाकर्मी संलग्न नवीनतम नेपालको समाजले ‘हामी नेपाली एक ढिक्का, सहयोगका लागि एक सिक्का’ अभियान सञ्चालन गरी धादिङका विपन्न चेपाङ र दलित समुदायलाई न्यानो कपडा सहयोग गरेको हो ।

राजधानीको नजिकै रहेर पनि अत्यन्तै कष्टकर जीवन बिताउन बाध्य भएको सुनेपछि आफूहरुले राजधानीको सडक र गल्लीमा सर्वसाधारणसँग सङ्कलन गरेको सहयोगले गरिब चेपाङलाई लत्ताकपडा उपलब्ध गराएको संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

राजधानीका सडक र गल्लीमा बसेर उठाएको सहयोग गरिब तथा विपन्न चेपाङ समुदायका परिवारलाई उपलब्ध गराएको हो । जोगिमारा र धुसा गाविसका ८१ घरपरिवारका ४० जना अतिविपन्न ज्येष्ठ नागरिकलाई कम्बल र अन्य २०९ महिलापुरुषका लागि छुट्टाछुट्टै कपडा वितरण गरिएको हो ।

अभियानबाट प्रभावित भई केही सहयोगी दाताले कपडा नै सहयोग गरेपछि विपन्न परिवारलाई उक्त कपडा वितरण गरिएको संस्थाका कार्यक्रम संयोजक भोला तिमिल्सिनाले जानकारी दिनुयभो । दाताले जाडोमा ओढ्ने र न्यानो कपडा दिएपछि विपन्न चेपाङले खुसीमा नाचेर दाताको स्वागत गरेका थिए ।

प्रतिक्रिया