पिउने पानी किन्नुपर्ने बाध्यता आइलागेपछि पाँचथरका गाउँले जनता बसाइँ सर्न थाले

इनेप्लिज २०७१ माघ ४ गते ८:४० मा प्रकाशित

drinking-waterपाँचथर, ४ माघ । जिल्लाका सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएका चार गाविसमा अहिले पानी किनेर पिउनुपर्ने अवस्था छ ।

दक्षिणी गाविस रानीगाउँ, स्याब्रुम्वा, याशोक र मौवा गाविसमा अहिले प्रतिलिटर डेढ रुपैयाँका दरले पानी किनेर पिउनुपर्ने बाध्यता रहेको छ ।

रानीगाउँका स्थानीयवासी लालअञ्जान सम्हाम्फेले भन्नुभयो, “सुक्खाग्रस्त क्षेत्र घोषणासमेत भइसक्यो, अहिलेसम्म पानीको व्यवस्था कतैबाट हुन सकेको छैन, अहिले तमोर नदी र सिवा खोलाबाट ट्र्याक्टरले बोकेको पानी प्रतिलिटर डेढ रुपैयाँका दरले किनेर प्रयोग गर्ने गरेका छौँ ।”

यस्तै स्याब्रुम्वाका स्थानीयवासी रमेश थापाले भन्नुभयो, “खानेपानीकै अभावका कारण अहिले यस ठाउँबाट बर्सेनि स्थानीय जनता बसाइँ सर्न थालेका छन्, तमोर नदीको लिफ्टको माध्यमबाट ल्याउन लागिएको पानीसमेत मेलम्ची खानेपानीभन्दा साह्रो भएको छ ।”

पछिल्लो दुई वर्षको अवधिमा मात्रै १५ स्थानीयवासीले त्यो ठाउँ छोडेर तराईका विभिन्न जिल्लामा बसाइँ सरेका छन् । अहिले पनि खानेपानीको अभावका कारण कतिपयले जग्गा बिक्री गरेरै त कतिले अरुलाई बन्धकी, अधियाँ छोडेर बसाइँ सर्ने गरेको स्थानीय जनता बताउँछन् ।

स्थानीयवासी थापाले भन्नुभयो, “भएका कुवा, पधेँरो सबै सुके, अहिले भएको कुवाबाट पानी ल्याउन बिहान ३ बजे नै उठेर कुवामा जानुपर्दछ, त्यहाँको भीडमा लाम बसेर घर आउँदा बिहान ९ बज्छ, अनि दिउँसो बस्तुभाउलाई पानी दिने जोहोमा एक गाग्रो पानीकै लागि दिन बित्ने गरेको छ ।”

यस्तै तमोर नदीको पानी लिफ्ट गरी रानीगाउँ, स्याब्रुम्वा र याशोक गाविसका स्थानीयवासीका लागि ल्याउने तयारी गरिँदै छ । पहिलो चरणको सम्भाव्यता अध्ययन गरिसकिएकाले अब अन्तिम सर्वेक्षणको तयारीपछि लिफ्टको काम सुरु गरिने जिल्ला खानेपानी सरसफाइ सवडिभिजन कार्यालय पाँचथरका प्रमुख नीराजन खनालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्यो लिफ्टबाट पानी ल्याउन त खोजियो तर त्यो पनि स्थानीय जनताका लागि महँगो पर्ने देखिन्छ । अब आयोजनाको काम चाँडै सुरु गरिने छ ।”

प्रतिक्रिया