बन्द हडताल अन्त्यको माग गर्दै पोखरामा शान्ति र्‍याली

इनेप्लिज २०७१ माघ ४ गते ८:२६ मा प्रकाशित

Banda-Hadtal-380x250कास्की, ४ माघ । ‘बन्द सधैँका लागि बन्द गरौँ’ भन्ने आह्वान गर्दै आज बिहान पोखरामा शान्ति र्‍याली निकालियो ।

पोखरा उद्योग वाणिज्य सङ्घको अगुवाइमा यहाँका पर्यटनसम्वद्ध सङ्घसंस्था, आमा समूह तथा नागरिक समाजका प्रतिनिधि सहभागी भएको र्‍यालीले पोखराका मुख्य नगरक्षेत्र महेन्द्रपुल, पृथ्वीचोक, सभागृहचोक, नयाँसडक र पृथ्वीचोकको परिक्रमा गरेको थियो ।

हजारौँको सङ्ख्यामा रहेका ¥यालीका सहभागीले ‘बन्द सधैँका लागि बन्द गरौँ’, ‘बन्दको विकल्प खोजौँ’, ‘समयमै संविधान जारी गरौँ’, ‘पर्यटकीय क्षेत्रमा बन्द र हडताल नगरौँ’, ‘गरिखान देऊ’ जस्ता प्लेकार्ड बोकेका थिए ।

र्‍याली पोखराको चिप्लेढुङ्गामा रहेको मानवअधिकार चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्नेले बन्द र हडतालका कार्यक्रम फिर्ता लिन, पर्यटन उद्योगलाई बन्दको मारमा नपार्न र देशको हितलाई केन्द्रमा राखेर काम गर्न राजनीतिक दललाई आग्रह गरेका थिए ।

कोणसभालाई  सम्बोधन गर्दै पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विन्दुकुमार थापाले बन्द र हडतालले देशको अर्थतन्त्र तहसनहस भएको र गरिखाने वर्गलाई हातमुख जोर्न पनि समस्या पारेको उल्लेख गर्दै बन्द र हडतालको विकल्प खोज्न सरोकारवालालाई आग्रह गर्नुभयो ।

उहाँले विभिन्न राजनीतिक दल र समूहबाट आह्वान भएका बन्द र हडतालका कार्यक्रम फिर्ता लिन आग्रह गर्दै आफ्नो मागको सुनुवाइ नभए बन्दविरुद्ध अझ सशक्त कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।

बन्द सधैँका लागि अन्त्य गर्न माग गर्दैै यहाँका व्यवसायी तथा नागरिक समाजका तर्फबाट कास्कीमा रहेका सबै राजनीतिक दललाई ज्ञापनपत्र बुझाइनेसमेत उहाँले जानकारी दिनुभयो ।

रेस्टुराँ एण्ड बार एसोसिएसन अफ नेपाल ९रेबान० पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले बन्दले नेपालको पर्यटन उद्योग चौपट बनाएको बताउँदै बन्दकै कारण धेरै पर्यटकले नेपाल भ्रमण तालिका बदलिदिँदा समस्या उत्पन्न भएको बताउनुभयो ।

लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बाबुराम गिरीले बन्दको विकल्प खोजी वार्ता र संवादमार्फत माग पूरा गराउनेतर्फ लाग्न राजनीतिक दललाई सुझाव दिनुभयो ।

यातायात व्यवसायी गोकर्ण कार्कीले जनताको नाममा जनतालाई नै दुःख दिने बन्द र हडतालविरुद्ध आम नागरिक एक हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले बन्द आह्वानकर्तालाई जनचाहना बुझी जनतालाई दुःख दिने काम बन्द गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया